क्षतिग्रस्त तटबन्धनकाे अथकद्वारा अनुगमन, वर्षात अगावै मर्मत गराउने प्रतिवद्दता
  • काँचुली खबर

१३ बैशाख, फत्तेपुर (बाँके) । निवर्तमान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेकाे राप्तीसोनारी ७ फत्तेपुरमा निर्मित तटबन्धनकाे अनुगमन गरेका छन । राप्ती नदिकाे बहाव नियन्त्रणकालागि गरीएकाे तटबन्ध भत्किएकाे क्षेत्रकाे अनुगमनकालागि त्यहाँ पुगेका अथकले वर्षात अगावै मर्मत गर्न पहल गर्ने प्रतिवद्दता समेत जनाएका छन ।

स्थानीयका अनुसार गतवर्षको बाढीले उक्त तटबन्ध भत्काएको थियो । तटबन्ध भत्किएको एक वर्ष हुन लाग्दा समेत अहिलेसम्म मर्मत नगरिएको भन्दै स्थानियहरूले तत्काल मर्मतकालागि पहल गरिदिन आग्रह गरेपछि त्यस क्षेत्रका निवर्तमान साँसद समेत रहेका अथकले स्थलगत अनुगमन गर्दै तटबन्ध मर्मतकालागि पहल गर्ने बताएका हुन ।

‘यो तटबन्ध भत्किएको एक वर्ष हुन लाग्यो, तर अहिलेसम्म सरकारले ध्यान दिएको छैन, यस क्षेत्रका बासिन्दालाई भोट बैंक मात्र बुझ्ने नेता छन्, बर्खाको मौसम आउन दुई महिना मात्र बाँकी तर यसमा कुनैपनि राजनीतिक दलका नेताले तटबन्धका लागि पहल गरेको मैले सुनेको छैन,’ एक स्थानियदे भने ।

उक्त तटबन्ध पूर्ण रुपमा भत्किएमा राप्ती सोनारी ७ फत्तेपुर र नरैनापुर ६ गंगापुरका करिव १० हजार मानिसको ज्यान जोखिममा रहेको र हजारौं विघा खेती योग्य जमिन नष्ट हुने जाेखिम छ । बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सुर्य ढकालले चुनावमा तटबन्ध मर्मत गरिदिने आश्वासन जनतालाई दिएपनि अहिले चटक्कै बिर्सेको स्थानिय परशुराम यादवले  बताए ।

‘काम गर्नलाई बैशाख र जेष्ठ महिना मात्र बाँकी छ, तर अहिलेसम्म केही काम भएको छैन, न स्थानीय सरकारले न प्रदेश सरकार र न त केन्द्र सरकारले ध्यान दिएको छ,’ यादवले भने ‘यो तटबन्ध निर्माण गर्नका लागि छिटोभन्दा पहल गर्न सरोकारवालाहरूलाई मेरो हार्दिक अनुरोध छ ।’

स्मरण रहाेस अथक बाँके क्षेत्र नं. १ काे साँसद रहेकै समयमा राप्ती नदिकाे कटान राेक्नकालागि जाेखिमयुक्त क्षेत्रमा तटबन्धन गरीएकाे थियाे ।

  • १३ बैशाख २०८०, बुधबार १९:४४ प्रकाशित
  • Nabintech