१५ चैत्र २०८०, बिहीबार
नेपालगन्ज रंगशालामा बन्ने भयो ‘सिन्थेटिक ट्रयाक’
  • काँचुली खबर

११ बैशाख, नेपालगन्ज । नेपालगञ्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्र्याक निर्माण हुने भएको छ । १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार सेन्थेटिक ट्र्याकको शिलान्यास गरेका हुन ।

११ करोड ६४ लाख ६४ हजार १ सय ४० रुपैयाँमा ट्रयाक निर्माणको जिम्मेवारी पाएको पञ्चकन्या/सिन्कोट्स, कुपण्डोल, ललितपुरले १० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ ।

एथ्लेटिक्स ट्र्याकको शिलान्यास गर्दै सदस्यसचिव घिसिङले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा नेपालगञ्ज रङ्गशालामा खेलकुदका आधुनिक संरचना निर्माण गरिएको भए पनि अपूर्ण रहेकाले रङ्गशालालाई पूर्णता दिन लागिएको बताए ।

“कुनै पनि रङ्गशालामा सेन्थेटिस ट्र्याकको निर्माण अनिवार्य छ, सदस्यसचिव घिसिङले भने, “सबै हिसाबले नेपालगञ्ज रङ्गशालालाई पूर्णता दिने योजनाअनुसार बजेट विनियोजन भई काम सुरु भएको छ ।”

ट्रयाकको निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास ब्यक्त गर्दै घिसिङले भने, “निर्माण अवधि जम्मा १० महिना राखेका छौं । मलाई विश्वास छ जिम्मेवारी पाएको संस्थाले समयमै सकाउने छ ।मैलै म्याद थप्नु पर्ने स्थिति बनाउनु हुने छैन । र, म म्याद थप्नका लागि तयार पनि छैन ।”

एथ्लेटिक्समा बाँके र लुम्बिनी प्रदेशले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरेको उत्कृष्ट प्रदर्शनको सम्मान गर्दै सरकारले ट्याक निर्माण गर्न लागेको उनको भनाइ छ । एथ्लेटिक्स ट्याक निर्माण भएपछि खेलाडीले अन्तर्राष्ट्रियस्तरको ट्र्याकमा तयारी गर्न पाउने भएकाले उत्कृष्ट प्रदर्शनका लागि सहज हुने सदस्य सचिव घिसिङको भनाइ छ ।

बाँके क्षेत्र नं. १ का तत्कालिन साँसद महेश्वर गहतराज (अथक) युवा तथा खेलकुद मन्त्री भएको बेला नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माण गर्ने निर्णय गरेर प्रक्रिया अघि बढाईएको थियो । जसअन्तर्गत अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भई टेण्डर समेत आह्वान गरीएको थियो । उक्त प्रक्रिया अन्तर्गत नै ट्रयाक निर्माण कार्य अगाडी बढाईएको हो ।

राजधानी बाहिर पोखरा र दाङको बेलझुण्डीपछि नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको सेन्थेटिक ट्र्याकको निर्माण सुरु भएको छ ।

सिन्थेटिक ट्रयाकको शिलान्यासपछि सदस्य सविच घिसिङले नेपालगन्ज रंगशाला परिसरमा रहेको पौडी पोखरीलगायतका पूर्वाधारहरुको समेत निरीक्षण गरेका थिए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुमित्रा चौधरी, अन्जन धमला, दिपेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो ।

  • ११ बैशाख २०८०, सोमबार १२:५७ प्रकाशित
  • Nabintech