७ बैशाख २०८१, शुक्रबार
आकाशमै होल्ड गरेर गन्तव्यतर्फ लाग्यो इञ्जिन फेल भएको फ्लाइ दुबई
  • काँचुली खबर

११ बैशाख, काठमाडौँ । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।

असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । पाइलटले अर्को इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।

यससँगै जहाज गन्तव्यतर्फ लागेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको थियो । तर जहाज नफर्किकन सुरक्षित रहेको जनाउसहित दुबईतर्फनै लागेको हो ।

प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन् । उनले अब चिन्ता लिनपर्ने अवस्था नरहेको बताएका छन् । ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नुहोला । सबैलाई शुभयात्रा’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्

  • ११ बैशाख २०८०, सोमबार २२:४६ प्रकाशित
  • Nabintech