४ बैशाख, नेपालगन्ज । सामाजिक सञ्जालका कारण पछिल्लो समय सामाजिक बिकृती मौलाउँदै गएको अवस्थामा बाँकेको नेपालगन्जमा भने फेसबुककै कारण सुखद संयोग जुरेको छ । फेसबुकले ५८ वर्षपछि दाजु-बहिनीको भेट गराएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका-१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाएकी छन ।
हिमा ज्ञवालीका दाजु डीपी शर्मा घिमिरेले फेसबुकबाट आफन्तलाई खोजी गर्दा ५८ वर्षपछि बहिनी हिमालाई भेटाउन सफल भएका छन । बर्मामा बस्दै आएका घिमिरे र नेपालगन्ज बस्ने ज्ञवालीबिच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन । तर सामाजिक संजाल फेलबुकबाट आफ्नो बहिनीको ठेगाना पत्ता लगाएका घिमिरे नेपालगञ्ज आएर बहिनीसँग भेट गरेका हुन ।
बर्मामा बस्ने दाजु घिमिरेले नेपालमा रहेका घिमिरे, पन्थी र ज्ञवाली इष्टमित्रलाई फेसबुकमा खोज्दै जाँदा धेरै मेहनत र लामो समयपछि बहिनी हेमाको ठेगाना पत्ता लगाएको बताए । त्यसपछि उनी बहिनी र आफन्त भेट्न १८ दिनको भिसा लिएर नेपाल आए । बहिनी हिमाले भनीन्, “यतिका वर्षपछि दाजुलाई देख्न र भेट्न पाउँदा स्वर्ग नै पाएजस्तो भएको छ । बर्मामा रहेका कुनै पनि परिवारका सदस्यसँग भेट हुने आशा मरिसकेका बेला दाजुलाई भेट्न पाउँदा खुसीले गदगद भएकी छु ।”
उनका दाजु डीपीको अनुभव पनि बहिनीको जस्तै छ । उनले बहिनी, आफन्त र परिवारसँग भेट हुने सबै आशा समाप्त भइसकेका बेला फेसबुकबाट आफन्तको खोजी गरेर नेपाल आएर भेट्न पाउँदा अति नै खुसी लागेको बताए ।
वि.सं. २००५ मा बर्मामा जन्मिएकी हिमाको १६ वर्षको उमेरमा बर्मामै गुल्मी जिल्ला निवासी फणीन्द्रनाथ ज्ञवालीसंँग विवाह भएको थियो । त्यसको एक वर्षपछि उनीहरू नेपाल आएका थिए । नेपाल आएपछि चाररपाँच वर्ष चिठीपत्र आदानप्रदान भए पनि पछि पूर्ण रूपमा सम्पर्क विच्छेद भएको थियो । उनका हजुरबुवा नारायणप्रसाद घिमिरे बर्मा घुम्न गएको र उतै बसेका थिए । उनका १२ छोराछोरी जन्मिएका थिए । १२ छोराछोरीमध्ये हिमा माइली छोरी हुन ।
दाजु-बहिनीको भेट भएपछि आमालाई पनि बर्मा लगेर त्यहाँ रहेका आफन्तलाई भेट गराउने तयारी भइरहेको हिमाका कान्छा छोरा प्रदीप ज्ञवालीले जानकारी दिए ।
सामाजिक सञ्जालको सदुपयोग गर्न सके धेरै राम्रा र उल्लेखनीय काम हुन सक्छन् भन्ने थुप्रै उदाहरण छन् । तीमध्ये एक उदाहरण बनेको छ, ५८ वर्षपछि दाजु र बहिनीको भेटघाट ।
– गोरखापत्रबाट
४ बैशाख २०८०, सोमबार १८:५० प्रकाशित