२९ चैत्र, कोहलपुर । कोहलपुर नगरपालिका क्षेत्रभित्रको सार्वजनिक जग्गा अनधिकृतरुपमा अतिक्रमणको प्रयास भैरहेकोप्रति कोहलपुर नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीद्वारा आज जारी सूचनामा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइए कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
नगर क्षेत्रभित्रको सार्वजनिक सम्पत्ति संरक्षण गर्नु सबैको दायित्व भएको पनि सूचनामा उल्लेख छ । सूचनामा अगाडि भनिएको छ, ‘कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा विभिन्न जिल्लाबाट बिभिन्न ब्यक्ती, समुह प्रवेश गरी अनाधिकृत रुपमा अतिक्रमण गर्ने प्रयास गरेको जानकारी आएकाले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ नगरपालिका क्षेत्रभित्रको सार्वजनिक जग्गा कुनैपनि व्यक्ति, समुह, संगठनले अनधिकृत रुपमा अतिक्रमण नगर्न र नगराउन आग्रह गरिन्छ ।’
यो सूचना नगर कार्यपालिका स्तरको भएकाले अटेर गरेर अतिक्रमण गरे प्रचलित कानुन अनुसार तत्काल कार्वाही प्रक्रिया अगाडि बढाइने पनि सूचनामा चेतावनी दिइएको छ । यदि सरकारी सार्वजनिक जग्गा अनधिकृत रुपमा अतिक्रमण गर्न गराउन लागेको देखेमा कोहलपुर नगर प्रहरी, इलाका प्रहरी कार्यालय र नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन पनि आग्रह गरिएको छ ।
२९ चैत्र २०७९, बुधबार १८:१३ प्रकाशित