२८ चैत्र, कोहलपुर । ब्यावसायिक हक हित संरक्षण समितिले आज कोहलपुर बन्दको आह्वान गरेको छ । बैंकहरुको चर्को ब्याजदरका कारण ब्यापार ब्यवसाय नै धरापमा परेको भन्दै समितीले आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलन अन्तर्गत आज कोहलपुरमा रहेका बैंक तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द गराईने बताईएको छ । सुरुमा ३ दिनको आन्दोलनको कार्यक्रम घोषणा गरीएको ब्यावसायिक हक हित संरक्षण समिती कोहलपुरका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
आन्दोलनको अबधिभर बैंक तथा वित्तिय संस्थाबाट हुने कारोबार ठप्प पार्ने र बृहत रुपमा शान्तिपूर्ण बिरोध ¥याली गर्ने निर्णय भएको श्रेष्ठले बताए । बिगतमा अरुकालागि आन्दोलीत हुँदै आएका ब्यवसायीहरु पहिलो पटक आफ्नो हक हितकालागि सडकमा उत्रनुपर्ने अवस्था आएको भन्दै श्रेष्ठले स्वतस्फुर्त रुपमा आन्दोलनमा सहभागी हुन समेत ब्यवसायीहरुलाई आह्वान गरेका छन ।
यसअघि शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिले बैंकहरुले लगाएको चर्को व्याजदर र ज्यादती विरुद्ध कडा आन्दोलनको अभियान सुरु गरेको र कोहलपुरमा २८ गतेदेखि ३० गतेसम्म बैंक बन्द नगरे तालाबन्दी गर्ने बताएको थियो । कर्जा लिने बेला ९ प्रतिशतमा लगानी गरेका बैंकहरुले अहिले १८ प्रतिशतसम्म ब्याजदर बृद्धि गरेपछि आन्दोलन गर्न बाध्य भएको समितीले जनाएको छ ।
पत्रकार सम्मेलनमा समितीले ९ ओटा मागहरु सार्वजनिक गरेको थियो । जसमा बैंकको व्याजदर एक अंकमा सिमित गरिनुपर्ने, आधार दर ४/५ प्रतिशत भन्दा बढि नहुने, हाल चलन चल्तीमा रहेका ५०० र १००० दरका नोट प्रतिबन्द लगाउनु पर्ने, लिलामीमा निस्कीएका व्यवसायीहरुको धितो लिलामी समयावधी थप गर्नुपर्ने, हाल किस्ता तिर्न नसकेका व्यवसायीहरुको समयावधि थप हुनुपर्ने, ऋणीको घरमा सुरक्षा गार्ड खटाउने जस्ता निन्दनिय कार्य तुरुन्त रोक्नुपर्ने, सहुलियत व्याजदरमा बैक कर्जा तुरुन्त प्रवाह गरिनुपर्ने, स्थानिय सरकारले लिएको घरबहाल करमा ५० प्रतिशत छुट गर्नुपर्ने, लघुवित्त र सहकारी सम्बन्धी स्पष्ट निति ल्याई कार्यान्वयनमा ल्याउनुपर्ने र घरधनीहरुले हाल कायम भएको घर तथा सटर भाडा १५ देखि २० प्रतिशत छुट गर्नुपर्ने मागहरु रहेका छन् ।
२८ चैत्र २०७९, मंगलवार ०७:५९ प्रकाशित