१५ बैशाख २०८१, शनिबार
बागेश्वरी मन्दिर परिसरको जुँगे महादेवको मन्दिर पुन: निर्माण गरीदैं
  • काँचुली खबर

२७ चैत्र, नेपालगन्ज । नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनः निर्माण गरिने भएको छ । नेपालगञ्ज उप-महानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि दुई करोड रुपियाँ बजेट विनियोजन गरेपछि टेण्डर आह्वान गरी काम सुरु भएको हो ।

जुँगे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि छ । मन्दिर पुन: निर्माणका लागि तालको पानी सुकाइ, मन्दिर र मूर्ति यथावत् राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको हो ।

नेपालगञ्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको जानकारी दिए ।

मन्दिरसम्म पुग्नका लागि वर्षौ पहिले बनाइएको प्रवेश मार्ग जीर्ण भएपछि उप-महानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । “अहिले मन्दिरसम्म पुग्ने बाटो फराकिलो बनाइने छ,” नगर प्रमुख विष्टले भने, “मन्दिरभित्रको पूजा गर्ने स्थान पनि फराकिलो हुनेछ ।”

नयाँ संरचना निर्माण भएपनि मन्दिरभित्रका घाटका क्षेत्र फराकिलो हुने उप-महानगरपालिकाले जनाएको छ ।

प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालको बीच भागमा रहेको जुँगे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रिलगायत विभिन्न चाडपर्वको समयमा भक्तजनहरूको भीड हुने समयमा दुर्घटनाको जोखिम रहने गरेकोमा नयाँ निर्माण भएपछि भक्तजनलाई सहजता हुने भएको छ ।

गोरखापत्रबाट

  • २७ चैत्र २०७९, सोमबार १४:४८ प्रकाशित
  • Nabintech