१२ बैशाख २०८१, बुधबार
कोहलपुर क्षेत्रका अतिक्रमित संरचना हटाउन सूचना जारी
  • काँचुली खबर

२६ चैत्र, कोहलपुर । कोहलपुर नगरपालिका क्षेत्रमा सडक सीमा अतिक्रमण हटाइने भएको छ । त्यसका लागि कोहलपुर नगरपालिका र सडक डिभिजन कार्यालय नेपालगन्जले ३५ दिने सूचना जारी गरेका छन् ।

सडक डिभिजन नेपालगन्ज अन्तर्गत रत्न राजमार्गको कोहलपुर नगरपालिकाको सीमा क्षेत्र वडा नं. १४ को पार्वतीपुरदेखि वडा नं. १ को बानियाभार जोड्ने पुल तथा पूर्व पश्चिम राजमार्गको वडा नं. १३ रोहिनी खोलादेखि वडा नं. ३ जोड्ने मैटहवासम्मको सडक केन्द्रबाट दायाँबायाँ दुवैतर्फ २५/२५ मिटर भित्रका संरचना हटाइने भएको हो ।

सार्वजनिक हित प्रतिकूल हुने गरी राखिएका निर्माण सामाग्री, व्यवसायीक सामानहरु, अतिक्रमित गरी निर्माण गरिएका स्थायी वा अस्थायी संरचनाहरु सूचना सार्वजनिक भएको मिति (२०७९/१२/२४) देखि ३५ दिनभित्र हटाउन आग्रह गरिएको कोहलपुर नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए ।

उक्त अवधिभित्र अतिक्रमित संरचना नहटाए कार्यालयबाट हटाइने र त्यसबाट हुने क्षतीको जिम्मेबार सम्बन्धित व्यक्ति आफै हुनु पर्ने र हटाउँदा लाग्ने खर्च पनि सडक ऐन २०३१ को दफा १९(३) बमोजिम सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

  • २६ चैत्र २०७९, आईतवार १४:४६ प्रकाशित
  • Nabintech