१३ बैशाख २०८१, बिहीबार
चर्को ब्याजदर बिरुद्ध आन्दोलनमा उत्रने कोहलपुरका ब्यापारीहरुको चेतावनी
  • काँचुली खबर

२० चैत्र, कोहलपुर । बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदरको बिरुद्ध आन्दोलनमा उत्रने कोहलपुरका ब्यापारीहरुले चेतावनी दिएका छन । सोमबार कोहलपुरमा प्रतिनिधिमुलक रुपमा भेला भएका ब्यापारीहरुले संयुक्त रुपमा संघर्षका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिदैं आन्दोलनमा उत्रने चेतावनी दिएका हुन ।

बिभिन्न ब्यापारीक प्रतिष्ठान तथा संघ संस्थाका प्रतिनिधीहरु आवद्ध रहेको सामाजिक सरोकार मञ्चको नेतृत्वमा संघर्षका कार्यक्रम संचालन गर्ने तयारी गरीएको मञ्चका संयोजक राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । आईतबार श्रेष्ठको नेतृत्वमा सामाजिक सरोकार मञ्च गठन गरीएको थियो । सोमबार मञ्चकै पहलमा भएको छलफलबाट आन्दोलनको तयारी गर्ने निर्णय भएको श्रेष्ठले बताए ।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले कायम गरेको अनियन्त्रित ब्याजदरका कारण ब्यवसाय धरासायी हुने अवस्था सृजना भएकाले तत्काल ब्याजदर घटाउन स्थानिय सरकारले पहल गर्नुपर्नेमा ब्यापारीहरु एकजुट देखिएका छन । सोमबार भएको छलफलमा बोल्ने अधिकाशं सहभागीहरुले स्थानिय सरकारमार्फत बैंक तथा बित्तिय संस्थाको ब्याजदर घटाउन पहल गर्नुपर्ने बताएका थिए ।

साथै घरबहाल कर छुट गर्न समेत उनिहरुले माग गरेका छन । कोहलपुरका अधिकाशं ब्यापारीहरुले सटर भाडामा लिएर ब्यापार ब्यवसाय संचालन गर्दै आएकाले उनिहरुको राहतकालागि समेत घरबहाल कर र भाडामा विशेष छुटको अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए । आर्थिक मन्दीका कारण ब्यवसाय नै छाड्नुपर्ने अवस्था सृजना भएकाले यथासिघ्र समस्या समाधानकालागि पहल गर्न स्थानिय सरकार समक्ष माग गर्ने निर्णय समेत भएको संयोजक श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले आर्थिक मन्दीसँगै बैंकको चर्को ब्याजदरका कारण घर नै लिलाम हुने अवस्था आएकाले बाध्य भएर आन्दोलनको तयारी गर्नुपरेको बताए । उनले देशब्यापी रुपमा आर्थिक समस्या जटिल बन्दै जाँदा समेत कुनै पनि राजनितिक दलले यसको सुनुवाईकालागि आवाज नउठाएको भन्दै आक्रोश समेत ब्यक्त गरे ।

  • २० चैत्र २०७९, सोमबार २१:३४ प्रकाशित
  • Nabintech