१२ बैशाख २०८१, बुधबार
बाँकेका ६३ गाउँ बाढीको उच्च जोखिममा
  • काँचुली खबर

जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेका ६३ गाउँ बाढीप–हिरोको उच्च जोखिममा रहेको जनाएको छ । बाढी–पहिरोबाट हुनसक्ने विनाशलाई कम गर्न समितिले उद्धार, खोजतलास, राहत तथा पुनस्र्थापनाका लागि आवश्यक योजनासमेत तयार गरिसकेको छ । विपद्मा परेकाको सहयोगका लागि अनुमानित बजेटसमेत तयार पारिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

उनका अनुसार राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका राप्ती नदीआसपासका गाउँलाई बाढीको उच्चजोखिम राखिएको छ ।

यी हुन् बाढीको जोखिम भएका ठाउँ

राप्तीसोनारी गाउँपालिका–६ र ७ का खल्ला झगडिया, पिप्रहवा, देउपुरा, शान्तिपुर, वसन्तापुर, पहाडीपुर, सर्री, सर्रा, जोरैया, सिधनवा, खल्ला टपरी, ढलैया र गोडियनपुर्वालाई बाढीको उच्च जोखिममा राखिएको छ ।

डुडुवा गाउँपालिकामा पर्ने होलिया, कुडुवा, कुडुवा चौफेरी, कृषि चौफेरी, गोडियनपुर्वा, अमृतपुर्वा, सोमरहना, बालुपुर्वा, नयाँ वस्ती, पिप्रहवा, खडैचा, कधइपुर्वा, सन्तलिया र हलबलडोलीलाई राप्ती नदीमा आउने बाढीको उच्च जोखिममा राखिएको प्रजिअ केसीले बताए ।

विपद् व्यवस्थापन समितिले राप्ती नदी किनारमा रहेको साबिक वनकट्टी गाविसलाई पनि बाढीको उच्च जोखिममा राखेको छ । समितिका अनुसार, साबिक वनकट्टी गाविसका वनकटवा, रमपुर्वा, कटैहिया, लतपुर्वा, राजारामपुर्वा र हल्कारापुर्वालाई बाढीको उच्च जोखिमका रूपमा सूचीकृत गरिएको छ ।

कम्दी गाविसको सिधनवा, लालपुर, खटनपुर र लडियाघाट गाउँ डुबानको उच्च जोखिमको सूचीमा छन् भने कचनापुर गाविसको कचनापुर, अम्रहवा, महेन्द्रपुर, टिकुलीपुर, अम्रहवा, शमशेरगंज खल्ला, मटैया, बेलबास, राजपुर र हरदेवा पनि उच्च जोखिम क्षेत्रको रूपमा पहिचान गरिएको छ ।

नरैनापुर गाउँपालिका-६, गंगापुरको सोनवर्षा, कुदरवेटवा, गंगापुर र खल्लादोन्द्रा तथा नरैनापुर गाउँपालिका-५, मटेहियाका भगवानपुर गाउँ बाढीको उच्च जोखिमको सूचीमा छ ।

राप्ती नदीको उच्च जोखिममा रहेका साबिकका बैजापुर, बिनौना र खास कुश्मा गाविस भने बाढीको उच्च जोखिमको सूचीमा नपरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष आएको बाढीले बैजापुरमा एकै घरका तीनजनाको मृत्यू हुनुका साथै लाखौ रुपैयाँबराबरको धनमालमा क्षति पुगेको थियो ।

डुबानको उच्च जोखिम  प्रशासन

राप्तीसोनारी गाउँपालिका बाढीको उच्च जोखिममा रहेको बाँके प्रशासनले जनाएको छ । बाढीले हरेक वर्ष ठूलो क्षति पुर्याउने गरेका कारण उक्त क्षेत्रलाई बाढीको उच्च जोखिमा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

प्रजिअ केसीले सामुदायिक भवन, विद्यालय, सामुदायिक वनका भवनलाई सम्भावित बाढीपीडितको आश्रयस्थलका रूपमा ब्यवस्था गरिएको छ ।

भारतीय सडकले डुबान

बाँकेमा हरेक वर्ष बाढीको जोखिम क्षेत्र बढ्दै गएको छ । अघिल्ला वर्षमा कहिल्यै डुबान नहुने क्षेत्र पनि डुबानको जोखिममा परेका छन् । भारतले निर्माण गरेको बाँधरूपी सडकका कारण डुडुवा गाउँपालिकाको हिरमिनिया र होलिया, जानकी गाउँपालिकाको साइगाउँ, बेलभार तथा इन्द्रपुरमा डुबानको समस्या देखिन थालेको छ ।

भारतले बनाएको सडकका कारण खजुरा गाउँपालिकाको राधापुर पनि डुबानमा पर्न थालेको छ । नेपालगन्ज उपमहानगरपालिकाको पानी बग्ने बाटो दोन्द्रा नालामा भारतले पुल बनाउनुपर्नेमा कल्भर्ट निर्माण गरेपछि कहिल्यै डुबान नहुने साई गाउँ, बेलभार र राधापुर डुबानमा परेको बेलभारका समाजसेवी किशोर थापाले बताए ।

उनले भारतले निर्माण गरिरहेको सडकको कारण नेपालगन्ज पनि डुबानमा पर्ने बताए । प्राकृतिक रूपमा बग्ने पानीको बहाबलाई भारतले निर्माण गरिरहेको सडकले छेकेपछि डुबान समस्या निम्तिएको साइगाउँका साबिर इद्रिसीले बताए ।

उनले भने, ‘वर्षातको पानी बग्ने ठाउँ नै नभएपछि गाउँ डुबान हुने नै भयो । दक्षिण बग्नुपर्ने पानी पुनः उत्तरतिर फर्किन थालेको छ ।’ वैजनाथ गाउँपालिकाका झन्डै चार हजार घर खोला र नालामा आउने बाढीको जोखिममा रहेको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिए । खजुरा गाउँपालिकामा पर्ने उढरापुर, राधापुर र बागेश्वरी गाविस पनि बाढीको जोखिममा छन् ।

साभार : नयाँ पत्रीका

  • ३१ असार २०७५, आईतवार १३:४८ प्रकाशित
  • Nabintech