नेपालगन्जमा फेरी देखिन थाल्यो कोरोना संक्रमण
  • काँचुली खबर

११ चैत्र, नेपालगन्ज । बाँकेको जमुनाह नाका भएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । यसअघि लामो समयसम्म फाट्टफुट्ट मात्रै कोभिड सङ्क्रमण देखिएकोमा केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगञ्ज उप-महानगरपालिका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए ।

‘जमुनाह नाकामा भारतबाट फर्किनेहरूको नियमित स्वास्थ्य जाँच भइरहेको छ,’ जनस्वास्थ्य निरीक्षक वलीले भने, ‘पछिल्लो समय एकैदिनमा सात जनासम्ममा कोभिडको सङ्क्रमण देखिएको छ ।’

नेपालगञ्ज उपमहानगरपालिकाका अनुसार चैत १ देखि ११ गतेसम्म १७ जनामा सङ्क्रमण देखिएको छ । शुक्रबार १६१ जनाको कोभिड एन्टिजिन परीक्षण गर्दा तीन महिलासहित सात जनामा सङ्क्रमण देखिएको हो । पछिल्लो पटक सङ्क्रमण देखिएकाहरू दैलेखबाट भारतको राजधानी नयाँ दिल्ली भ्रमणमा गएका विद्यार्थीहरू हुन ।

कोभिड सङ्क्रमण देखिएकाहरूमा सामान्य रुघाखोकी मात्रै देखिएका कारण स्थानीय तहको समन्वयमा घरमै आइसोलेशन बस्ने गरी पठाइएको उप-महानगरपालिकाले जनाएको छ ।

नेपालगञ्ज उप-महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार सीमानाका भएर ओहोरदोहोर गर्ने नागरिक तथा अन्य सबैलाई कोभिडबाट बच्न स्वास्थ्य मापदण्डको पूर्ण पालनाकालागि आग्रह गर्ने गरिएको छ । सीमा नाकामा कोभिड परीक्षणमा थप कडाइ गरिएको उहाँको भनाइ छ । कोभिड सङ्क्रमण देखिएपछि जमुनाह नाकामा स्थायी प्रकारको परीक्षण केन्द्र स्थापना गरिएको छ ।

जिल्लाका अन्य अस्पतालहरूमा समेत सामान्य रुघाखोकीका बिरामी बढेका कारण चिकित्सकहरूले स्वास्थ्य मापदण्ड पालनाका लागि आग्रह गरेका छन् ।

  • ११ चैत्र २०७९, शनिबार १६:१४ प्रकाशित
  • Nabintech