नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ कायम
  • काँचुली खबर

१० चैत्र, काठमाडौँ । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८-७९ को नतिजा सार्वजनिक गर्दै २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको जानकारी दिएको हो ।

तथ्यांकअनुसार महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ पुगेको छ । महिलाको भन्दा पुरुषको संख्या करिब ७ लाख कम रहेको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।

सार्वजनिक नतिजाअनुसार प्रारम्भिक तथ्यांकमाभन्दा करिब २८ हजार जना जनसंख्या घटेको देखिएको छ । १४ महिनाअघि तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना थियो । विस्तृत तथ्यांकमा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको छ । जुन प्रारम्भिक जनसंख्या भन्दा २७ हजार ९०२ जनाले कमी हो ।

वागमती र मधेस प्रदेशमा करिब २१ प्रतिशत जनसंख्याको बसोवास छ, त्यसैगरी कर्णाली प्रदेशमा बसोबार गर्नेको सँख्या सबैभन्दा कम छ । त्यस्तै भक्तपुरमा सबैभन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ ।

  • १० चैत्र २०७९, शुक्रबार १३:१४ प्रकाशित
  • Nabintech