गाभरमा प्रदेशस्तरीय साइकिलिङ प्रतियोगिता हुँदै
  • काँचुली खबर

९ चैत्र, कोहलपुर । बाँकेमा प्रदेश स्तरीय साइकिलिङ प्रतियोगिता हुने भएको छ । शनिबार बाँकेको पर्यटकिय स्थल गाभरमा बाँके जिल्ला साइक्लिङ संघको आयोजनामा प्रदेश स्तरीय साइकिलिङ प्रतियोगिता ‘एमटिवी च्यालेन्ज २०२३’ संचालन हुन लागेको हो ।

संघले बिहिबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो । बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापाका अनुसार साइकल खेलको आवश्यकता तथा महत्वका बारेमा प्रसार प्रचार साथै साइकल खेल प्रति रुचि बढाउन प्रतियोगिताको आयोजना गरिएको हो ।

शनिबार विहान ७ बजे हुने खेलमा १८ जना खेलाडिहरुले सहभागिता जनाउने लुम्बिनी प्रदेश स्तरिय एमटिभि च्यालेन्ज २०२३ का संयोजक कविराम बुढाथोकीले जानकारी दिए । आयोजकका अनुसार प्रतियोगितामा बाँके सहित दाङ र रुपन्देहीका खेलाडिहरुले सहभागिता जनाउने छन ।

७ जना महिला खेलाडि सहित १८ जनाले भाग लिने तय भएको प्रतियोगितामा चार किलोमिटरको दुरीमा रहेको ट्रयाकमा साइकल दौड प्रतियोगिता संचालन गरिने र उक्त ट्रयाकको मर्मत कार्य समेत भईसकेको आयोजक संस्थाका अध्यक्ष थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा भाग लिनेहरुलाई पुरस्कार रकम कति दिने निश्चत नभएपनि आर्थिक अवस्थाका कारण सामान्य रुपमा पुरस्कार प्रदान गर्नेगरि तयारी गरिएको संघका अध्यक्ष थापाले बताए ।

नेपालमा अहिले साइक्लिङका ४ विधामा खेलहरु खेलाइने भएपनि संघले आयोजना गरेको प्रदेश स्तरिय खेलमा एक्ससिओ फर्मेटमा पहिलो पटक खेलाउन थालिएको संघले जनाएको छ । प्रतियोगितामा भाग लिन आउने खेलाडिहरु एक दिन अघि नै खेल हुने स्थानमा पुगिसक्ने र ट्रयाकमा आफ्नो साइकल परिक्षण गर्ने गरि तयारी गरिएको आयोजकले जनाएको छ ।

  • ९ चैत्र २०७९, बिहीबार २१:५८ प्रकाशित
  • Nabintech