६ चैत्र २०८०, मंगलवार
मापसे नियन्त्रण पहिलो प्राथमिकता : ट्राफिक प्रमुख सुनार
  • काँचुली खबर

६ चैत्र, कोहलपुर । बाँकेका ट्राफिक प्रहरी प्रमुख तिलक सुनारले आफ्नो पहिलो प्राथमिकता मापसे नियन्त्रण गर्नु रहेको बताएका छन् । ट्राफिक प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेको करिब डेढ सातापछि संचारकर्मीसँगको अन्तरक्रियामा उनले मापसेका कारण दुर्घटना भएका घटना धेरै भएकाले त्यसको नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

‘यहाँ मापसे गरेर सवारी साधन चलाउने प्रवृत्ति बढी देखियो’ उनले भने, जसका कारण हुने मानवीय क्षती रोक्न मापसे चेकजाँचलाई कडाइ गरिनेछ ।झ उनले नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापन अहिलेको चुनौति रहेको बताए । बढ्दो जनघनत्व, सवारीसाधनको चाप र सीमित जनशक्तिका कारण नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापन सुधार गर्न चुनौतिपूर्ण रहेको उनको भनाई छ ।

नेपालगन्जको पुष्पलाल चोक, धम्वोजी, ट्राफिक पोष्ट अगाडि ट्राफिक प्रहरीको उपस्थिति भएपनि मुख्य बजार क्षेत्र त्रिभुवन चोक, त्रिवेणी मोड, भेरी अस्पताल, मालपोत कार्यालय क्षेत्र वरवर भने ट्राफिक प्रहरीको उपस्थिति छैन । जसका कारण त्यस क्षेत्रमा ट्राफिकजामदेखि दुर्घटनाको उच्च जोखिम हुने गरेको छ । कतिपय अवस्थामा दुर्घटना गराएर सवारी साधन भाग्ने समेत गरेका छन् ।

बाँके ट्राफिकमा ६८ जना छन् । बाँकेमा पक्की र कच्ची गरी ६ सय १० किलोमिटर सडक छ । एउटा ट्राफिकलाई ९ किलोमिटर सम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारी साधनको चाप दैनिक बढिरहेको छ । एउटा ट्राफिकलाई दैनिक दुई हजार सवारी साधन चेकजाँच गर्नुपर्ने अवस्था छ । ट्राफिक प्रहरी प्रमुख सुनारले चुनौतिकाबीच पनि ट्राफिक व्यवस्थापनमा विभिन्न कामहरु भइरहेको बताए । स्थानीय सरकार, नेपाल प्रहरीसँग मिलेर ट्राफिक व्यवस्थापनका लागि योजना बनाएर अघि बढिने उनको भनाइउ छ । कतिपय सवालमा ट्राफिक अज्ञानताका कारण पनि दुर्घटना हुने गरेको भन्दै उनले पैदलयात्रु, विद्यार्थी र मजदुरहरुलाई ट्राफिक नियमबारे जनचेतना जगाउन जरुरी रहेको बताए । उनले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी एक्लैले मात्र सम्भव नहुने भएकाले सबैको सहयोग र साथबाटै दुर्घटना न्यूनीकरण हुने बताए ।

जिल्लाका १९ वटा ठाउँ दुर्घटनाका हिसावले असाध्यै जोखिमपूर्ण छन् । ती क्षेत्रमा विशेष निगरानी हुँदै आएको पनि उनले बताए । जिल्लामा भएका दुर्घटनाको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी टिप्पर, म्याजिक, स्कुटर र मोटरसाइकल छन् । तीब्र गतिमा सवारी साधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मापसे गरेर सवारी सचालउने गरेका कारण दुर्घटना भएका छन् । जसले गर्दा आफ्नो ज्यानमात्र गुमाएका छैनन् । उनीहरुका कारण निर्दोष पनि दुर्घटनाको शिकार बनेका छन् । ट्राफिक प्रहरी प्रमुख सुनारले संगठनभित्र आर्थिक अनुशासनलाई मजवुत पारिने विश्वास समेत दिलाए । उनले ट्राफिक प्रहरी आर्थिक लेनदेनमा कतै मुछिएको गुनासो आए सिधै आफूलाई जानकारी दिन पनि आग्रह गरेका छन् ।

  • ६ चैत्र २०७९, सोमबार १४:५९ प्रकाशित
  • Nabintech