१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोना बिरुद्धको दोस्रो बुस्टर डोज लगाउन सुरु
  • काँचुली खबर

२७ फागुन, नेपालगन्ज । बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । केही दिनयता रुघाखोकीका बिरामी बढ्न थालेपछि यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सङ्क्रमण फेरी बढ्न सक्ने भएकाले बुस्टर खोप लगाएको ६ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेकाहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । ५५ वर्ष उमेर माथिका सबै, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर बुस्टर डोज दिन थालिएको फोकल पर्सन श्रेष्ठको भनाइ छ ।

कोभिड-१९ सङ्क्रमण भएकाहरूले पनि सङ्क्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज लिन मिल्ने उनले बताए । बुस्टर मात्रा खोप लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

आगामी ३० गतेसम्म बाँकेमा बुस्टर डोज लगाउने योजना रहेको स्वास्थ्य कार्यालयले जनाउको छ । सोही अनुसार नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, जानकी र डुडुवा गाउँपालिकामा खोप अभियान सुरु गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा १८ सय-१८ सय, कोहलपुर नगरपालिकामा दुई हजार, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा १५ सय-१५ सय, डुडुवा र नरैनापुरमा १२ सय-१२ सय र नेपालगञ्ज उपमहानगरपालिकामा दुई हजार ६०० डोज खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

  • २७ फाल्गुन २०७९, शनिबार २२:५३ प्रकाशित
  • Nabintech