१३ बैशाख २०८१, बिहीबार
पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष कैदको फैसला
  • काँचुली खबर

२५ फागुन, काठमाडौं । विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडामा समाज कल्याण परिषद्लाई २० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित ७ जनालाई कैद र जरिवानाको फैसला गरेको छ ।

पूर्वमन्त्री तथा गत निर्वाचनमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङसँग भने जरिवाना मात्र सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले १६ फागुनमा भृकुटीमण्डपको जग्गामा भ्रष्टाचार भएको ठहर गरेको थियो । उक्त घटनामा संलग्नहरुलाई बिहीबार सजाय निर्धारण गरिएको हो ।

जसमा पूर्व समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा नै बिगो र थप ६ महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए ।

पूर्वमन्त्री टेकबहादुर गुरुङलाई भने मतियार ठहर गर्दै १ करोड २१ लाख, ८४ हजार ४०१ रुपैयाँ ८० पैसा जरिवानाको सजाय निर्धारण भएको भट्टराईले बताए ।

विशेष अदालतले समाजकल्याण परिषदका तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, तत्कालिन कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, तत्कालिन सदस्यहरु हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र तत्कालिन सदस्य सचिव रवीन्द्र कुमारलाई पनि कैद र जरिवानाको सजाय निर्धारण गरेको छ । मेहतालाई ८ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगो र थप ६ महिना जरिवाना हुने विशेष अदालतले फैसला गरेको छ ।

त्यसैगरी चौधरीलाई २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगोको फैसला गरिएको छ । न्यौपानेलाई ८ वर्ष कैद, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो तोकिएको छ भने शर्मा, कर्ण र कुमारलाई पनि ८ वर्ष कैदका साथै २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो रकम तोकिएको छ । कुमारलाई थप ६ महिना कैद गरिने पनि उल्लेख गरिएको छ ।

काठमाडौं फनपार्कका सञ्चालक रवीन्द्र गुरुङसँग भने २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो असुल गर्ने फैसला भएको छ ।

  • २५ फाल्गुन २०७९, बिहीबार २०:११ प्रकाशित
  • Nabintech