८ बैशाख २०८१, शनिबार
विश्वकप लिग-२ : पीएनजीमाथि नेपालको सानदार जित
  • काँचुली खबर

२५ फागुन, काठमाण्डौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आईसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) माथि सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले हरायो ।

जितका लागि दुई सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा सवै विकेटको क्षतिमा दुई सय ४५ रनमा समेटिएको थियो । पीएनजीका लागि नोर्मान भानुवाले सर्वाधिक ६० रन बनाए । ओपनर टोनी उराले ५० रन बनाए । यस्तै कप्तान आसाद भालाले ४२, किपलिन डोरिगाले २६, रिले हेकुरेले २० र चार्लेस अमिनीले १४ रन जोडे ।

बलिङमा नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । दीपेन्द्र सिंह ऐरीले दुई तथा कुशल मल्लले एक विकेट लिए । जितसँगै नेपालले विश्वकप छनोट सम्भावना कायम राखेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको थियो । नेपालले एकदिवसीय क्रिकेटमा बनाएको यो ऐतिहासिक उच्च स्कोर पनि हो ।

नेपालका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेल सानदार प्रदर्शन गरे । नेपालका लागि ओपनरआशिफ शेखले एक सय १० रनको शतकीय पारी खेले ।

उनले एक सय १० बलमा १२ चौका दुई छक्काको सहयोगमा उक्त रन बनाएका हुन । आशिफको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिला शतक हो । उनले यस खेलबाटै एकदिवसीय क्रिकेटमा एक हजार रन पनि पूरा गरेका छन ।

पीएनजीविरुद्ध ९० रन बनाउँदा उनको एक हजार रन पूरा भएको थियो । यस्तै ओपनर कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४, कप्तान रोहित पौडेलले ३०, आरिफ शेखले १५ र सोमपाल कामीले अविजित चार रन बनाए ।

बलिङमा पीएनजीका सेमो कामेराले पाँच विकेट लिए । रिले हेकुरेले तीन तथा अलेई नाओदले एक विकेट लिए । नेपाल सिरिजका सबै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा छ । नेपाललाई विश्वकपमा छनोट हुन सिरिजका बाँकी सबै खेल जित्नुपर्ने बाध्यता छ ।

आयोजक नेपाल, पपुवा न्युगिनी (पीएनजी) र संयुक्त अरब इमिरेट्स (यूएई) सम्मिलित यस सिरिजमा नेपालले दोस्रो खेल फागुन २८ गते यूएई, तेस्रो खेल फागुन २९ मा पीएनजी र अन्तिम खेल चैत २ गते यूएईसँग खेल्नेछ । यो सिरिज लिग-२ को अन्तिम खेल पनि हो । नेपाललाई विश्वकपमा स्थान बनाउन सबै खेल फाइनलसरह छ ।

जितसँगै ३३ खेलबाट ३४ अंक बनाएको नेपाल अहिले तालिकाको पाँचौँ स्थानमा छ । समान खेलबाट नौ अंक बनाएको पीएनजी अन्तिममा छ । ३२ खेलबाट ३१ अंक बनाएको युएई छैटौँ स्थानमा छ ।

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अंकसहित दोस्रो, ३९ अंक बनाएको नामिबिया तेस्रो र ३५ अंक बनाएको अमेरिका चौथो स्थानमा छ ।

लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि कम्तीमा पाँचौँ स्थानमा रहनुपर्नेछ ।

  • २५ फाल्गुन २०७९, बिहीबार १८:३६ प्रकाशित
  • Nabintech