१५ बैशाख २०८१, शनिबार
बाँकेमा नौ हजार क्विन्टल मात्रै धान खरिद
  • काँचुली खबर

२३ फागुन, नेपालगन्ज । बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित खाद्य व्यवस्था कम्पनी लिमिटेड कार्यालयले खरिद सुरु गरेकामा नौ हजार क्विन्टल मात्र धान खरिद भएको छ ।

धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुनको पहिलो साताबाट धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए ।

उनले यस वर्ष जिल्लाका ८४० जना किसानबाट मध्यम धान २० हजार क्विन्टल र मोटो धान पाँच हजार क्विन्टल गरेर २५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा धेरै कम नौ हजार क्विन्टल मात्र धान खरिद भएको बताए ।

३४० जना किसानबाट मध्यम धान सात हजार क्विन्टल र मोटो धान दुई हजार क्विन्टल गरेर नौ हजार क्विन्टल धान खरिद गरिएको हो । कार्यालयले ढिला गरी खरिद सुरु गरेको र पछिल्लो समय व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरिद गर्न थालेकाले किसानले कम्पनीलाई धान बिक्री नगरेको बताए ।

बाँकेका आठवटा पालिकामध्ये जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरका किसानले मात्र निर्धारित कोटाअनुसार धान बिक्री गरेको र अन्य छवटा पालिकाबाट निकै कम सङ्ख्यामा किसान धान बिक्री गर्न आएको जनाइएको छ ।

जिल्लामा रहेका आठवटै पालिकालाई कोटा निर्धारण गरेर गत पुस ५ गतेबाट २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद सुरु गरिएको थियो तर निर्धारित समयभन्दा निकै ढिला गरी धान खरिद सुरु गरेकाले अधिकांश किसानले बाध्य भएर पहिले नै व्यापारीलाई बिक्री गरिसकेकाले नै कम्पनीमा नगएको बाँके खजुरा–४ का किसान जयन्त थापाले बताए ।

सरकारले यस वर्ष मोटा धानको प्रतिक्विन्टल समर्थन मूल्य दुई हजार ९६७ रुपियाँ र मध्यम धानको मूल्य तीन हजार १२८ रुपियाँ तोकेको थियो ।

  • २३ फाल्गुन २०७९, मंगलवार ०९:४० प्रकाशित
  • Nabintech