१४ बैशाख २०८१, शुक्रबार
नेपालगञ्जको आर्थिक विकास रणनीति मस्यौदा तयार
  • काँचुली खबर

२१ फागुन, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले ‘नेपालगञ्ज आर्थिक विकास रणनीति’को मस्यौदा तयार गरी छलफलमा ल्याएको छ । व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यावसायिक शिक्षा, पर्यटन, कृषिलगायतका छवटा आर्थिक क्षेत्र पहिचान गरेर मस्यौदा तयार गरिएको छ ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालका अनुसार सो रणनीति २०८० देखि २१०० सालसम्म कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ । २१०० सम्ममा स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य सो रणनीतिमा उल्लेख छ । यस्तै उपमहानगरलाई हरित र सफा नगरका रूपमा विकास गर्ने लक्ष्य पनि रहेको छ ।

नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले २० वर्षका लागि तयार पारिएको यो रणनीति नेपालगञ्जको आर्थिक विकासका लागि कोसेढुङ्गा साबित हुने बताए ।

सबैको साझा सरोकार र दायित्वले मात्रै रणनीतिक योजना कार्यान्वयन गर्न सहज हुने जनाउँदै उनले स्थानीय अर्थतन्त्रलाई प्रवद्र्धन गर्दै आयात प्रतिस्थापनको महत्वाकाङ्क्षी लक्ष्यसहित आर्थिक विकास रणनीति तयार पारिएको बताए ।

सो आर्थिक विकास रणनीतिले लगानी, उत्पादन र बजारीकरणका लागि उपयुक्त वातावरण बनाउन भूमिका निर्वाह गर्ने उद्योगी व्यवसायीले जनाएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले यो रणनीतिले स्थानीयस्तरमा आर्थिक विकास र समृद्धिको नारालाई साकार पार्ने बताए ।

  • २१ फाल्गुन २०७९, आईतवार ०९:०१ प्रकाशित
  • Nabintech