१४ बैशाख २०८१, शुक्रबार
नगर प्रहरीकालागि कोहलपुरले किन्यो विद्युतीय गाडी
  • काँचुली खबर

१८ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाले नगर प्रहरीकालागि विद्युतीय गाडी खरिद गरेको छ । कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार टेण्डर प्रक्रियामार्फत खरीद गरिएका विद्युतिय गाडी केही दिनभित्रै प्रयोगमा ल्याउने तयारी गरीएको छ ।

साइकल, मोटरसाइकल र टिप्परमा गस्ती गरिरहेका नगर प्रहरीहरुको सहजताकालागि खरिद गरीएको गाडीबाट नगरका १ दखी १५ वटै वडामा गस्ती गरीने थापाले बताए ।

उनले भने, ‘हामीले सीमित स्रोत र साधनमा ड्युटी गरिरहेका छौँ । नगर प्रहरीको आवश्यकताअनुसार गाडी खरिद गरिएको हो । अबको केही दिनमा गाडी प्रयोगमा आउँछ ।’ थापाले महँगी र स्वदेशी उत्पादनको प्रवद्र्धनलाई मध्यनजर गरेर विद्युतीय सवारी प्रयोगमा ल्याउन लागिएको बताए ।

स्वदेशी उत्पादनमै लगानी गरौँ भन्ने उद्देश्यले विद्युतीय सवारी प्रयोगमा ल्याउन लागेको उनको भनाइ छ । नगरवासीहरुको सुरक्षाका लागि विद्युतीय सवारी साधनमार्फत चुस्तदुरुस्त गस्ती हुने उनले बताए । आफ्नै सवारी साधन नहुँदा कोहलपुर नगर प्रहरीले टिप्परमा ड्युटी गरिरहेको छ । नगर प्रहरीले विभिन्न सामग्री ओसारपसार गर्दा नगरपालिकाको टिप्परको प्रयोग गर्दै आएको छ । यस्तै कोहलपुर नगर प्रहरीले हरेक दिन पाँचवटा साइकलमा गस्ती गरिरहेको छ भने नगर प्रहरीको काम कै लागि दुईवटा मोटरसाइकल समेत प्रयोगमा रहेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकामा २४ नगर प्रहरी र पाँच जना सरसफाइकर्मीको दरबन्दी छ ।

  • १८ फाल्गुन २०७९, बिहीबार १३:३६ प्रकाशित
  • Nabintech