७ बैशाख २०८१, शुक्रबार
धार्मिक पर्यटन प्रवर्द्धनकालागि बागेश्वरीमा ‘महाआरती’
  • काँचुली खबर

९ फागुन, बाँके (रासस)। नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने विश्वास लिईएको छ । प्रत्येक सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको घुइँचो लाग्ने गरेको छ । महाआरतीमा नेपालगन्ज नगरवासीलगायत टाढा-टाढाबाट स्वःस्फुर्तरूपमा भक्तजन सहभागी हुने गरेका छन् ।

बागेश्वरी मन्दिरमा चौथो महाआरतीमा सोमबार अहिलेसम्मकै सबैभन्दा धेरै भक्तजनको घुइँचो लागेको बागेश्वरी गुठी व्यवस्थापन समितिले जनाएको छ । पण्डित वा बटुकद्वारा बैद्धिकमन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजा अर्चना गरेर धार्मिक विधिअनुसार महाआरती गरिने बागेश्वरी मन्दिरका मूल महन्थ चन्दननाथ योगी बताउँछन् ।

उनका अनुसार महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने र सन्ध्या आरतीपछि भजन कीर्तन पनि गर्ने गरिएको छ । महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

‘वेष्टर्न ट्राभल मार्ट’को अवसरमा गत माघ १५ गतेदेखि साप्ताहिक रूपमा बागेश्वरी मन्दिरमा महाआरती सुरु गरिएको थियो । ट्राभल एजेन्ट्स एशोसिएशन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको पहलमा बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा प्रत्येक सोमबार अपराह्न ५ बजेपछि महाआरती हुने गरेको छ ।

महाआरतीको अवसरमा बागेश्वरी मन्दिर परिसरमा भक्तजनले स्वःस्फुर्तरूपमा भजन कीर्तन र नाचगान गर्ने गरेका छन् । बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीले धार्मिक पर्यटक प्रवर्द्धनमा सघाउ पुगेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बागेश्वरी मन्दिरमा महाआरती सञ्चालन गर्न नेपालगन्ज उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिए । महाआरतीले धार्मिक पर्यटन प्रवर्द्धनका साथै नगरवासीमा धार्मिक आस्थाप्रति रुचि बढ्ने उनको भनाइ छ ।

  • ९ फाल्गुन २०७९, मंगलवार १४:१६ प्रकाशित
  • Nabintech