१३ बैशाख २०८१, बिहीबार
बाँकेमा नक्कली नोटको बिगबिगी, नोट छाप्ने मेसिन भेटियो
  • काँचुली खबर

४ फागुन, नेपालगन्ज । पछिल्लो समय बाँकेमा नक्कली नोटको बिगबिगी भएको छ । गत केही समययता बाँकेमा ठूलो परिमाणमा नक्कली नोट भित्रिएको आशङ्का प्रहरीले गरेको छ ।

प्रहरीले ठूलो परिमाणको नक्कली नोट र नोट छाप्ने मेसिन नै बरामद गरेपछि सो आशङ्का गरिएको हो । पछिल्लो पटक बाँके प्रहरीले नक्कली एक हजार रुपियाँका पाँच लाख ६९ हजार रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ । एकै पटक यति धेरै नक्कली रुपियाँ बरामद गरिएपछि जिल्लामा नक्कली नोट धेरै बढी हुनसक्ने अनुमान प्रहरीको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरका अनुसार नेपालगन्ज उपमहानगरपालिका-२ न्यूरोडमा शङ्कास्पद अवस्थामा हिँडिरहेको बेला खानतलासी गर्दा तीन जनाबाट नक्कली एक हजारका ५६९ वटा नक्कली नोट बरामद भएको हो ।

कोहलपुर नगरपालिका-११ का ३३ वर्षीय मोहन कुमाईं, अछामको तुर्माखाँद गाउँपालिका-३ का ३० वर्षीय दीपक बिसी र सल्यानको नवगाड कुपिन्डे नगरपालिकाका ३० वर्षीय मोहन रानाको खानतलासी गर्दा उनीहरूले बोकेको झोलाबाट सो नक्कली रुपियाँ बरामद गरेर उनीहरूलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

पक्राउ परेका मोहन रानाका साथबाट ४१८ ओटा नक्कली नेपाली एक हजारको नोट (४ लाख १८ हजार) र मोहन कुमाईंको साथबाट १५१ ओटा नक्कली नेपाली एक हजारको (एक लाख ५१ हजार) गरी कुल ५६९ ओटा एक हजारका नक्कली नेपाली रुपियाँ बरामद गरेको छ ।

प्रहरीले कुल पाँच लाख ६९ हजार नक्कली नेपाली रुपियाँ बरामद गरेको हो । नक्कली नेपाली रुपियाँ बोकेर हिँडी रहेका उनीहरूलाई गोप्य सूचनाको अधारमा प्रहरीको विशेष टोलीले पक्राउ गरेको थियो ।

प्रहरी प्रवक्ता डिएसपी घर्तीमगरले यति धेरै नक्कली नोट कहाँबाट कसरी ल्याइएको हो भन्नेबारे प्रहरीले विशेष टिम नै खटाएर थप अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँका अनुसार यसअघि गत माघको पहिलो साता नेपालगन्जको धम्बोझीस्थित पाहुना घर होटेलबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट प्रहरीले बरामद गरेको थियो ।

पुस २९ गतेदेखि होटेलमा बसेका एक व्यक्तिले होटेलमा बसेर नक्कली नोट छपाइ गरेको भेटिएको थियो । ३० गतेसम्म होटेलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठामा हेर्दा ५० रुपियाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको थियो । फरार रहेका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको बेला फेरि नक्कली नोट फेला परेको हो ।
गोरखापत्रबाट

  • ४ फाल्गुन २०७९, बिहीबार १२:३१ प्रकाशित
  • Nabintech