८ बैशाख २०८१, शनिबार
थारू साहित्य सम्मेलनको उडान कि बैठान ?
  • कृष्णराज सर्वहारी

तीन दिने राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा माघ २२ गते सकाएर आउँदा शरीरमा थकान छ तर मन फुरुङ्ग भएको छ ।

सम्मेलन थारू भाषा, साहित्य, संस्कृति उनन्नयनका लागि थारू साहित्यिक संघ संस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकजुट भएर सहकार्य गर्ने लगायतका १२ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न गरेका छौं ।

साथै, आगामी ८ औं राष्ट्रिय थारू साहित्य सम्मेलन मोरङको ग्रामथान गाउँपालिकामा गर्ने तय गरेका छौं । उक्त सम्मेलनपछि बाँकी सबै थारू साहित्य सम्मेलन बर्दियामा आयोजना गर्न पहिल गरिने प्रतिवद्धता थारू लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले जनाउँदा संघको केन्द्रीय अध्यक्षको नाताले यो पंक्तिकार मखलेल छ ।

२०७२ भदौ ७ र ८ मा टीकापुर भएको थरुहट आन्दोलनमा ७ प्रहरी मारिए । थारु समुदायका दर्जनौको पसल, घर जलाइयो । त्यस वर्षको अटवारी, अस्टिम्की डस्या, डेवारी कुनै चाड खुलेर मनाउन पाएनन् टीकापुरवासीले ।

सो घटनाले थारु र गैरथारुबीच निकै दूरी बढायो । उक्त घटनापछि निकै मर्माहत भएका हामी (म र मित्र सुशील चौधरी) अर्को वर्ष अर्थात् २०७२ सालको दशैंको छेको पारेर काठमाडौंदेखि कञ्चनपुरसम्म थारु साहित्यिक गोरपासु गर्ने निर्णय गर्यौं । गोरपासुको अर्थ पैदल यात्रा हुन्छ । काठमाडौंदेखि कञ्चनपुरसम्म पैदल यात्रा सम्भव थिएन । गाडीको प्रयोग गर्ने बाध्यता भयो ।

काठमाडौंदेखि निस्किएका सुशील र म दाङदेउखुरी, बाँके, वर्दियाका पुग नपुग दर्जन साहित्यिक कार्यक्रम चहार्यौं । पछि कैलाली, कञ्चनपुरको पनि यात्रा गरियो । त्यहाँ गरिएका सबै छलफलमा धेरैको सुझाव रह्यो, राजनीतिले तोड्छ, साहित्यले जोड्छ । तपाईं दुबै जना थारु साहित्यकारहरुको राष्ट्रिय भेला गर्नोस् । साहित्यमार्फत् थारु र गैरथारुबीचको दूरी घटाउनोस् ।

यही सुझावलाई मनन गर्दै हामीले पहिलो राष्ट्रिय थारु मेला २०७२ सालभित्रै गर्ने तयारी थाल्यौं । दाङका छविलाल कोपिला, केवी चौधरी, सन्तोष दहित, भुवन भाइ लगायतले साथ दिए । तर प्राविधिक कारणवश २०७३ सालमा कार्यक्रम सर्न पुग्यो ।

२०७३ वैशाखको ३ र ४ मा ऐतिहासिक रुपमा पहिलो थारू राष्ट्रिय साहित्य सम्मेलन, दाङको घोराही र राजपुर गाउँमा भव्य रुपमा सम्पन्न भयो । पहिलो थारु साहित्य सम्मलेनमा यो पंक्तिकारको संयोजकत्वमा थारू लेखक संघ पनि गठन भयो । सम्मेलनमा थारू भाषाको विकास र साहित्यको समीक्षात्मक छलफलका साथै, वार्षिक रुपमा थारू साहित्य राष्ट्रिय सम्मेलन आयोजना गर्ने उद्घोष गरियो ।

सोही बमोजिम २०७३ चैत्र १९ र २० गते कैलालीको धनगढी नगरपालिकाको पटेलामा दोस्रो थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भयो । त्यस्तै २०७४ माघ ४, ५ र ६ गते बर्दियाको बढैयातालमा तेस्रो थारू राष्ट्रिय साहित्य सम्मेलन गरियो ।

२०७५ चैत २२ र २३ गते चौथो थारू राष्ट्रिय साहित्य सम्मेलन रुपन्देहीको सैनामैना नगरपालिका, उचडिह्वामा भयो । पाँचौ कार्यक्रम विराटनगरमा गरिने उद्घोष गरिए पनि २०७६ सालमा कोरोनाका कारण थारू साहित्य राष्ट्रिय सम्मेलन आयोजना हुन सकेन ।

२०७७ चैत २१ र २२ गते थारू राष्ट्रिय साहित्य सम्मेलनको पाँचौ संस्करण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा भयो । त्यस्तै, २०७८ फागुन १२ देखि १४ गते थारू साहित्य राष्ट्रिय सम्मेलनको छैठौ संस्करण सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको सिंहपुरमा भयो ।

यसै क्रममा ७ औं राष्ट्रिय थारू साहित्य सम्मेलन यही २०७९ माघ २० देखि २२ सम्म गोचाली समाज नेपाल, बाँकेको सहकार्यमा बाँकेको राप्तीसोनारी गाँउपालिका–६ सिधनवामा सम्पन्न गरेको छ ।

नेपालमा थारू भाषाको अवस्था चौथो स्थानमा छ । तर अझै पनि थारू भाषा लेख्य परम्पराउन्मुख भाषाको रुपमा हेरिन्छ । थारू भाषा तथा साहित्यको विकासका लागि धरै प्रयासहरु भएका छन् । २०२८ सालमा प्रकाशित थारू भाषाको पहिलो पत्रिका गोचालीबाट थारू भाषा तथा साहित्यको विकासको संगठित प्रयास भएको देखिन्छ । यस हिसाबले थारू साहित्यको संस्थागत प्रयास भएको पाँच दशक पार गरेको छ ।

जिल्लाका स्थानीय साहित्यिक संघसंस्था सँगको सहकार्यमा थारु लेखक संघ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुने राष्ट्रिय साहित्य सम्मेलनमा थारु साहित्यको विविध पाटोमा प्यानल छलफल तथा दर्जन बढी स्रस्टाको पुस्तक विमोचन हुने गरेको छ । तर यस वर्ष मात्र दुइटा पुस्तक विमोचन हुन सक्यो ।

थारू साहित्य सम्मेलनले ल्याएको जागरण

थारू साहित्य सम्मेलनले एक किसिमको जागरण ल्याउने काम गरिरहेको छ । सत्तरीको दशक थारु भाषा, साहित्यको जागरणको वर्ष भन्दा फरक परोइन ।

कैलालीको पटेलामा आयोजना गरिएको दोस्रो साहित्य सम्मेलनकै कारण त्यहाँका बरघरहरु एकजुट भएर थारू संग्राहलय बनाउन सफल भए । रुपन्देहीको सैनामैना नगरपालिकाको उचडिह्वामा उद्घाटन नभएको होमस्टेमा चौथो सम्मेलन गर्दा त्यहाँको प्रचार प्रसारमा सहयोग पुग्यो । दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र बाँकेमा गरिएको सबै सम्मेलनमा थारूको जनजीवनमा कलम चलाउने गैरथारू साहित्यकारहरुलाई सहभागी गरायौं ।

रामलाल जोशी, नयनराज पाण्डे, महेशविक्रम शाह, शिवानीसिंह थारुदेखि महानन्द ढकाल, नविन अभिलाषी, सागर गैरे, सनत रेग्मी, खगेन्द्र गिरि कोपिलासम्म, जसले नेपाली भाषामै कलम चलाउँछन् । तर, थारु जनजीवन समेट्छन् आफ्ना रचनामा । डा गोविन्द आचार्य, किरण रेग्मी जो गैरथारु भएर पनि थारु भाषामा समेत कलम चलाउँछन् । त्यस्ता धेरै लेखकहरुको जमघटको थलो बनिरहेको छ राष्ट्रिय थारू साहित्य सम्मेलन । यसले थारु साहित्यमा लेख्नेहरुलाई उर्जा भरिरहेको छ ।

लुम्विनी प्रदेश थारु बहुल क्षेत्र हो । तर यहाँ प्रज्ञा प्रतिस्थान बन्न सकेको छैन । न त २०१४ सालमा स्थापना भए पनि केन्द्रको प्रज्ञा प्रतिस्थानमा थारू साहित्यकार अझैसम्म प्राज्ञ सदस्य बन्न सकेका छन् । योे चौथो ठूलो भाषाप्रतिको घोर उपेक्षा हो भन्ने मलाई लाग्छ ।

थारू भाषाको मानकताको सवालमा भाषाको लेखनमा बिस्तारै एकरुपता आउन थालेको मेरो ठम्याइ छ । यसबारे एक दशक अघि प्रकाशन भएका थारू भाषाका पुस्तक र पछिल्लो समय प्रकाशन भईरहेका पुस्तकको लेखाइ हेर्दा प्रष्ट हुन्छ ।

देशको जुनसुकै कुनामा थारू साहित्य सम्मेलन गरिएपनि त्यहाँका युवा साहित्यकारलाई सशक्त बनाउनुका साथै भाषिक जागरण ल्याउने काम गरिरहेको छ । केही समय यता थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा ९थाकस० लगायतले मानक भाषाका लागि सभा, गोष्ठी गर्न अग्रसर हुनु थारू साहित्य सम्मेलनकै घच्घच्याई हो भन्दा फरक परोइन ।

के के विषयमा भए बहस ?

७ औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा ६ वटा विविध विषयमा छलफल, बहस गरिएको थियो । राप्ती सोनारीको विकासका लागि प्राथमिकताहरु, आदिवासी भाषा दशक र मातृभाषा, विकासमा वरघर, होमस्टेमा थारू समुदाय, आख्यानमा थारू जीवन, बाँकेमा थारू साहित्यको अवस्था, थारू साहित्यमा युवा तथा सिकलसेल एनिमियाको कहरः जनस्वास्थ्यमा प्रतिकुल असरबारे विषयगत सम्बन्धित ब्यक्तित्वहरुलाई प्यानलिस्ट बनाएर घनिभूत छलफल गरिएको थियो ।

‘राप्ती सोनारीको विकासका लागि के छ प्राथमिकतामा रु’ विषयमा गाउँपालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषासिंह थारू र वडा नम्बर ७ का अध्यक्ष रामलखन चौधरीसँग वीवीसीकी विमला चौधरीले कुराकानी गरिन् । स्थानीय साधन र स्रोतको प्रयोगलाई प्राथमिकतामा राखिएको बताउँदै गाउँपालिका अध्यक्ष पौडेलले स्थानीयलाई कृषि क्षेत्रको विकासमा लाग्न प्रोत्साहन गर्दै सरकारले सक्दो सहयोग गर्ने बताए । उनले राप्ती सोनारीका थारु समुदायका ९५ प्रतिशत भूइँहारथान बनाइसकिएको जनाउँदै थारु पुस्तक लागु गर्नेदेखि बरघर ऐन बनाउनेसम्म प्रतिवद्धता गरे ।

‘आदिवासी भाषा दशक र मातृभाषा’ शीर्षकमा थारु आयोगका सदस्य भोलाराम चौधरी र युनेस्को प्रतिनिधि वर्षा लेखीसँग शेखर दहितले संवाद गरे । पाठ्यक्रम एवं सरकारी तथा कामकाजी भाषाका रूपमा थारू भाषाको प्रयोगका बारेमा विशद् चर्चा भयो ।

‘आख्यानमा थारू जीवन’ मा थारूका बिषयमा आख्यानकार मनोज चौधरी अज्ञात, महानन्द ढकाल र गणेश वर्तमानसँग नवीन अभिलाषीले संवाद गरे । चितवनका लेखक मनोज चौधरीका ‘टुकी’ र ‘टुवरा’ उपन्यासमा थारूको जनजीवन समेटिएको छ ।

बाँके, कोहलपुरका महानन्द ढकालले ‘बुह्रान’ उपन्यास ‘बुह्रान’ उपन्यासमा विभिन्न कारणले थातथलो छोडेर बसाइँसराइ गरेका थारू समुदायको जनजीवन चित्रण गरिएको छ । अर्का सहभागी गणेश वर्तमानको ‘ट्वाना’ पुस्तक पनि यसै सम्मेलनमा विमोचन भएको उपन्यास हो ।

लेखक महानन्द ढकालले राज्यको केन्द्रीय भूमिकामा थारूको उपस्थिति अहिले पनि कमजोर भएको बताए । थारूको मेहनत, परिश्रम र संघर्ष अनुसारको प्रतिफल यो समुदायले नपाएको गुनासो उनको थियो ।

२०५७ साल साउन २ मै कमैया मुक्ति घोषणा भए पनि अझै थारु जनजीवनको लेखनमा यही विषयबस्तुको मात्रै किन उठान भैरहेको छ भन्ने तिखो प्रश्न थियो नविनको । जवाफमा आख्यानकार मनोज चौधरीले हुनेखाने थारूभन्दा श्रमजीवी थारू समुदाय धेरै भएको जिकिर जमिन्दारको घरमा कमैया बसेर गुजारा गर्न थारू समुदाय अझै पनि बाध्य बनेको धारणा राखे ।

सम्मेलनमा बाँके जिल्लाको थारू साहित्यको अवस्था बारेमा पनि छलफल गरियो । लेखक एवं पत्रकार सागर गैरेले थारू साहित्यका अगुवा जीतबहादुर चौधरी, सञ्चारकर्मी सोम डेमनडौरा र साहित्यकार खगेन्द्र गिरी कोपिलासँग जिल्लाको समग्र थारू साहित्यको अवस्थाबारेमा छलफल गरे ।

कार्यक्रममा जीतबहादुर चौधरीले थारू भाषाको पहिलो पत्रिका गोचालीमार्फत जिल्लामा साहित्यिक गतिविधि बढाउन भूमिका खेलेको सम्झिदै बाँके जिल्लाबाट भने थारु पत्रिका प्रकाशन हुन नसकेको जनाए । डेमनडौराले आफ्नो बाँके बसाइँमा हवाइ एवं लघु साहित्यिक पत्रिकामार्फत् थारू स्रस्टाका रचनालाई प्रकाशन गरेर स्रस्टालाई लेखनमा हौसला प्रदान गर्ने काम विगतमा गरेको बताए । जिल्लामा एफएम रेडियोको स्थापना गर्न र ती रेडियोबाट थारू भाषामा कार्यक्रम प्रसारण गर्न भूमिका खेलेको पनि उनको भनाइ थियो । लेखक खगेन्द्र गिरी कोपिलाले बाँके जिल्लामा थारू भाषामा कलम चलाउने स्रस्टाहरू प्रशस्त भएको तर एकजुट हुन नसकेको टिप्पणी गरे ।

भूमिका थारुले सञ्चालन गरेको थारु साहित्यमा युवा शीर्षकको प्यानलमा नाटककर्मी प्रणव आकाश, साहित्यकारद्वय सागर कुश्मी तथा गीताञ्जली पछल्डंग्या थिए । अग्रजहरुले युवाहरुलाई लेखनमा प्रेरणा दिनुपर्ने सेसनको निचोड थियो । सागर कुश्मीले गजल लेखनमा धेरै थारु युवालाई प्रशिक्षण दिइसकेको तर प्रशिक्षण लिएका कसैले पुस्तक प्रकाशन गर्न नसकेको बताए ।

यस्तै सम्मेलनको कि-नोट स्पीकरको रुपमा अनुसन्धानकर्ता डा गोविन्द आचार्यले थारू समुदायको इतिहास, संस्कार, संस्कृति, रहनसहनबारे बृहत ब्याख्या गरेका थिए । उनले थारु साहित्यकारहरु सतही रचनामा रमाउनु भन्दा अध्ययन, अनुसन्धान गरेर कलम चलाउनु पर्ने बताए ।

राष्ट्रिय थारू साहित्य सम्मेलनको उद्घाटनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी हौसला बढाउन आइपुगेका थिए ।

सम्मेलनमा थारु लेखक संघ नेपालद्वारा स्थापित राना थारु लोककथा संग्रह सोरठकी लेखिका लक्ष्मी रानालाई २५ हजार २५ रुपौयाँ नगद सहित सम्मान गरिएको थियो । संघको आजीवन सदस्यता तथा कार्यक्रम गरी बाँकी भएको रकमले अक्षयकोष स्थापना गरिएको छ । आगामी वर्ष पुरस्कार रकम ५० हजार पुर्याउने योजना रहेको छ ।

यस वर्षको सम्मेलनमा माघ महोत्सव पनि जोडिएकाले बहस र छलफलसँगै दर्जनौ थारू नाचहरू पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न स्रस्टाहरूले रचना वाचन पनि गरेका थिए । तर अरु वर्षको कार्यक्रम बहसमूलक नै केन्द्रीत गर्ने योजना छ । नाटककर्मी प्रणव आकाशले अरु वर्षको साहित्य सम्मेलनमा नाटक प्रदर्शनी, चित्रकला गोष्ठी, रचना प्रतियोगिता, लोककथा वाचन लगायतको सेसन राख्न उचित हुने सुझाएका छन् । तर बहसमूलक कार्यक्रममा अनेक कार्यक्रम मिसाउँदा अझ बोझिलो हुनेमा हामी आयोजक सचेत छौं ।

अन्तमा, आगामी ८ औं राष्ट्रिय थारू साहित्य सम्मेलन मोरङको ग्रामथान गाउँपालिकामा हुने तय भैसकेको छ । रुपन्देहीले हामीलाई अर्को मौका दिनुपर्यो भनेर ढिपी गरिरहेका छन् । बर्दिया तथा कैलालीका युवा स्रष्टाहरु प्रत्येक वर्षको राष्ट्रिय थारू साहित्य सम्मेलन एकै ठाउँमा गर्नुपर्ने सुझाउँदै आफूहरु कार्यक्रम गर्न तम्तयार रहेको बताएका छन् । यो आलेख तयार पार्दा आख्यानकार महेशविक्रम शाहले आगामी सबै कार्यक्रम टीकापुरमा गर्न अनुरोध गर्दै बरु आफूहरुले सघाउने वाचा गरेका छन् ।

यी सबै अनुरोधले थारू साहित्य सम्मेलनको उडानकै क्रममा छ भन्ने देखाउँछ । तर थारु भाषाको पुस्तक प्राथमिक स्कूलमा लागु नभएसम्म थारु भाषा, साहित्यको श्रीवृद्धि हुन सक्तैन । हालसम्म कैलालीको कैलारी गाउँपालिकाले मात्रै आफ्नो पुरै गाउँपालिकामा थारु पुस्तक लागु गरेको छ । यसको सिको अरु पनि पालिकाहरुले गरुन् । थारु लेखकहरुले यसबारे समन्वय गरुन्, थारु लेखक संघको अभियान पनि यही हो ।
रातोपाटीबाट

  • २८ माघ २०७९, शनिबार २२:५३ प्रकाशित
  • Nabintech