१३ बैशाख २०८१, बिहीबार
नेपालगन्जमा शनिबारदेखि मेयर तथा उपमेयर कप क्रिकेट हुँदै, तयारी पुरा
  • काँचुली खबर

२० माघ, नेपालगन्ज । नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ । प्रतियोगिता शनिबार देखि मंगलप्रसाद उच्च माविको खेल मैदानमा हुँदैछ ।

बाँके जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर (महिला) तर्फ ६ टिमले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको उद्घाटन शनिबार बिहान हुँदैछ । उद्घाटन खेलमा पुरुष तर्फ मोर्डन पब्लिक स्कुल र अब्दुल्ला लायन क्रिकेट क्लब बिच तथा महिला तर्फ होलिल्यान्ड स्कुल र मंगल प्रसादको टिमबिच प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार आयोजक बाँके जिल्ला क्रिकेट संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको जनाएको छ । बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाईले प्रतियोगिताले बाँकेको क्रिकेट स्तरलाई माथि उकास्न महत्वपुर्ण भुमिका खेल्ने बताए ।

उनले भने,‘यस पटक गत वर्ष भन्दा महिला र पुरुष दुबैमा धेरै टिमको सहभागिता रहेको छ । यसले बाँकेको क्रिकेट फेरी चलायन भएको संकेत गरेको छ । हामी यस्ता विभिन्न प्रतियोगिता गर्दै बाँकेबाट नयाँ प्रतिभावान खेलाडी छनोट गर्ने अभियानमा छौं ।’

प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान खान पठानका अनुसार पुरुष तर्फ समुह ‘ए’ मा ज्योति स्पोर्टस एकेडेमी (ए), फालकोन स्पोर्टस क्लब, नेपालगन्ज थन्डर, थ्रीस्टार क्रिकेट क्लब, नेपालगन्ज मोडेल एकेडेमी र ज्योति स्पोर्टस एकेडेमी(बी), समुह ‘बी’ मा श्रीचन्द्र मेवालाल स्कुल, भेरी रकर्स, बाँके बारियर्स, जागुर स्पोर्टस क्लब, रनियापुर युवा क्लब रहेका छन् । यसैगरी समुह ‘सी’ मा मंगल प्रसाद स्कुल, मोर्डन पब्लिक स्कुल, अब्दुल्लाह लायन क्रिकेट क्लब, सेन्ट थोमस स्कुल, न्यु दर्पण युवा क्लब र समुह ‘डी’ मा नेपालगन्ज किङ, नेपालगन्ज-११ रकर्स, धारा मंगोलियन स्पोर्टस क्लब, बिरता क्रिकेट क्लब, नेपालगन्ज चाम्स र कोहलपुर स्पोर्टस एकेडेमी परेका छन् ।

यसैगरी महिला तर्फको समुह ‘ए’ मा नेपालगन्ज मोडेल एकेडेमी, त्रिभुवन स्कुल र श्री चन्द्र मेवालाल स्कुल तथा समुह ‘बी’ मा होलिल्यान्ड स्कुल, मंगल प्रसाद स्कुल र बाल विद्या स्कुल रहेका छन् ।

प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिला तर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिला तर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको फाइनल मिति भने आयोजकले पछि सार्वजनिक गर्ने प्रतियोगिताका प्राविधिक संयोजक मोहन लम्सालले बताए ।

प्रतियोगिता आयोजना गर्नको लागि नेपालगन्ज उप-महानगरपालिकाले मेयर कप खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको लागि ५ लाख र उपमेयर कप महिला क्रिकेट प्रतियोगिताको लागि २ लाख आर्थिक सहयोग गरेको छ ।

नेपालगन्जको मंगल प्रसाद उच्च माविको मैदानमा धेरै समय पछि क्रिकेट प्रतियोगिता हुँदा बाँकेमा क्रिकेटको रौनकता बढेको बताउँछन प्रतियोगिता संयोजक सोफियान खान पठान । उनले भने, ‘हामीलाई प्रतियोगिता गर्न मैदानको अभाव छ । मैदान नहुँदा धेरै समस्या हुने गरेको छ । कोहलपुरमा प्रतियोगिता गर्दा यहाँका टिम र खेलाडीलाई गएर खेल्न आर्थिक रुपमा समस्या पर्छ । त्यसैले नेपालगन्जमा प्रतियोगिता हुँदा यसले क्रिकेटलाई पुरानै लयमा फर्काउन सहयोग गर्छ ।’

  • २० माघ २०७९, शुक्रबार १८:३८ प्रकाशित
  • Nabintech