१६ चैत्र २०८०, शुक्रबार
सीमासँग जोडिएको नरैनापुर क्षेत्रको अनुगमन
  • काँचुली खबर

१८ माघ, नरैनापुर । बाँके जिल्लाको भारतसँग सीमा जोडिएको नरैनापुर क्षेत्रको अनुगमन गरिएको छ । नरैनापुरको गंगापुरमा शुक्रबारबाट सुरु हुन लागेको मेलालाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो ।

बाँकेमा केही दिनअघि मात्रै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्यको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो । आचार्यले सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखेर आकस्मिक निरीक्षण गरेको बताइएको छ । शान्ति, सुरक्षालगायतका विषयमा सीमा क्षेत्रले मुख्य भूमि खेल्ने हुँदा यसको अवस्था बुझ्न जरुरी रहेको र त्यसका लागि सीमा क्षेत्रको अनुगमन गरिएको हो ।

सिमा क्षेत्रको अनुगमन गर्न पुगेका प्रजिअ आर्चायले इलाका प्रशासन कार्यालय नरैनापुरको भवनको समेत निरिक्षण गरेका थिए । गृह मन्त्रालयले कर्मचारी पठाउने बित्तिकै इलाका प्रशासनको काम सुरु गर्ने आचार्यले बताए ।

पहिलो पटक नरैनापुर पुगेका प्रजिअ आचार्यलाई नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नं. १ का अध्यक्ष इसाक जोलाह, २ का अध्यक्ष मसूद अहमद शाह, ४ का अध्यक्ष मनोज शर्मा लगायतले स्वागत गरेका थिए ।

प्रजिअ आचार्यले अनुगमनका क्रममा गैरकानुनी गतिविधिलाई नियन्त्रणमा लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका छन । ‘सीमा क्षेत्र र पिलर (सीमा स्तम्भ) को अवस्था ठीकै रहेको छ,’ आचार्यले भने, ‘छोटी भन्सारहरू नचलेका कारण भारतबाट सामान खरिद गरेर आउँदा राजस्व तिर्न भने सर्वसाधारणले समस्या भोग्नुपर्ने अवस्था रहेको भेटिएको छ।’

प्रजिअसंगै अनुगमनमा नरैनापुर गाँउपालिकाका अध्यक्ष शाह, प्रहरी उपरिक्षक सन्तोष सिहं राठौर, अनुसन्धानका एसपि मोहन कुमार लगायतको सहभागिता रहेको थियो ।

  • १८ माघ २०७९, बुधबार २२:०८ प्रकाशित
  • Nabintech