१५ बैशाख २०८१, शनिबार
नरैनापुरमा दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु
  • काँचुली खबर

५ माघ, नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकामा दादुरा महामारी फैलिएपछि बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप प्रदान गर्न बिहिबारबाट सुरु गरिएको छ ।

बढि जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समुहका करिब चौध हजार २२ जना बालबालिकालाई खोप लगाईने नरैनापुर गाँउपालिका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिए । दादुरा रुबेलाका लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी बालबालिकाहरुलाई खोप लगाउन अनुरोध गरिएको शाहले बताए ।

हालसम्म नरैनापुरमा १४ जनामा दादुरा देखिएको छ । दादुराकै कारण बाँकेमा एक बालकको मृत्यु समेत भइसकेको छ । नरैनापुरमा तीव्र गतिमा फैलिरहेको दादुरा महामारी नियन्त्रणमा लिन खोप अभियान सुरु गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । एउटा टोल तथा बस्तीमा ५ जनासम्म दादुराका विरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ ।

दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको अध्यक्ष शाहले बताए । अध्यक्ष शाहले प्रकोप फैलिएपछि सबैको ध्यानार्कषण भएको बताउदै धर्मगुरु र समुदायसँग छलफल गरेर खोप अभियानमा सहयोग गर्न आग्रह गरिएको जिकिर गरे ।

नरैनापुर वडा नम्बर २ का बालबालिकामा दादुरा धेरै देखिएको छ । स्वास्थ्य शाखाका प्रमुख शाहका अनुसार सबैभन्दा बढी ६-१५ वर्ष मुनिका बालबालिकामा दादुराको संक्रमण देखिएको छ । दादुरा बिरुद्धको खोप अभियानको पहिलो दिन नरैनापुरमा २६६१ जना बालबाबालिकाले खोप लगाएको बिबेक पौडेलले जानकारी दिए । उनका अनसार ६ वटै वडामा ११ वटा खोप केन्द्र मार्फत खोप दिने काम सुरु गरिएको छ ।

नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।

  • ६ माघ २०७९, शुक्रबार ०९:४१ प्रकाशित
  • Nabintech