प्रशासनको निर्देशनपछि बाँकेका सबै क्रसर उद्योग बन्द
  • काँचुली खबर

२८ पुस, कोहलपुर । बाँके जिल्लामा सञ्चालित सबै क्रसर उद्योग बन्द गरिएका छन् । हाल सञ्चालनमा रहेका १७ वटा क्रसर उद्योग अवैध तथा मापदण्ड विपरीत पाइएपछि ती सबै उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

गृह मन्त्रालयले अवैध तथा मापदण्ड विपरीतका क्रसर उद्योगहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले सबै त्यस्ता उद्योग बन्द गराएको हो ।

जिल्लामा २२ वटा क्रसर उद्योगहरु रहेकोमा पाँचवटा बन्द अवस्थामा रहेको र १७ वटा सञ्चालनमा रहे पनि मापदण्ड नपुगेकाले बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले अवैध तथा मापदण्ड विपरीतका उद्योगहरु बन्द गर्न प्रहरीलाई निर्देशन दिएपछि उद्योग बन्द गराइएको प्रहरीले जनाएको छ ।

जिल्लामा सञ्चालित अवैध तथा मापदण्ड विपरीतका सबै क्रसर उद्योग बन्द गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए ।

जिल्लामा सञ्चालित अवैध तथा मापदण्डविपरीतका क्रेसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयबाट आएको निर्देशनको पालना गरेर विकास निर्माणका काममा प्रयोग गरिएका वैध उद्योगबाहेक अन्य सबै क्रसर बन्द गरिएको एसपी राठौरले बताए ।

‘जिल्लाका सबै क्रसर बन्द गरेका छौँ,’ उनले भने, ‘प्रशासन कार्यालयबाट आएको निर्देशनपछि हामीले अवैध तथा मापदण्डविपरीतका क्रसर र बालुवा प्रशोधन उद्योग बन्द गरेका हौं ।’

सरकारले तोकेको मापदण्ड पूरा नगरेसम्म ती उद्योगलाई सञ्चालन गर्न नदिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • २८ पुष २०७९, बिहीबार २१:४५ प्रकाशित
  • Nabintech