२७ पुस, कोहलपुर । यही माघ १४ गतेदेखि नेपालगञ्जमा दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट सुरु हुने भएको छ । नाट्टा बाँके च्याप्टरको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा माघ १४ गतेदेखि १६ गतेसम्म नेपालगञ्जको सोल्टी होटलमा मार्ट हुन लागेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।
उनका अनुसार पश्चिम नेपालको पर्यटनको प्रचारप्रसारका लागि सबैभन्दा महत्वपूर्ण मानिने यो मार्टमा यसपटक भारतका ७५ जना टूर अपरेटर आउँदैछन् । ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाइ) बाट ७५ जना टूर अपरेटर नेपाल आउने निश्चित भएको अध्यक्ष सिग्देलले बताए ।
उनीहरु मार्टमा आएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णालीमा र्याफ्टिङ गर्दै रारा पनि जाने सम्भावना छ । यसका लागि प्रयास भइरहेको सिग्देलले बताए । भारतीय टूर अपरेटरलाई बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली तथा सुदूरपश्चिमका विभिन्न पर्यटकीय गन्तव्य घुमाइनेछ ।
उनीहरुका कारण नेपालमा भारतीय पर्यटक आउने भएकाले यसपटक सबैसँग सहकार्य गरेर भारतीय टूर अपरेटरलाई महत्वपूर्ण गन्तव्यमा लैजाने प्रयास हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पर्यटन व्यवसायीको मुख्य सहभागिता रहने मार्टमा काठमाडौँसहित सातै प्रदेशका पर्यटन व्यवसायी भेला हुनेछन् ।
कर्णाली र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य थलोका रुपमा परिचित मार्टमा यसपटक स्थानीय संस्कृति, टूर प्याकेज र कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा पनि पर्यटक आकर्षण गर्ने मुख्य उद्धेश्य छ ।
मार्टको बारेमा जानकारी दिन सोमबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा वेष्टर्न ट्राभल मार्टका संयोजक श्रीराम सिग्देलले पश्चिम नेपालको पर्यटकीय क्षेत्रको प्रचार गर्नका लागि ट्राभल मार्ट गर्न लागिएको प्रष्ट्याए । ‘भारतका पर्यटन ब्यवसायीहरु ट्राभल मार्टमा आउँदै हुनुहुन्छ, हामीले उहाँहरुलाई पर्यटकीय गन्तब्यहरुमा लैजान सकियोस्, चिनाउन सकियोस्, भारतीय पर्यटन ब्यवसायीले प्रचार-प्रसार गरिदिनु भयो भने तेस्रो मुलुकमा जाने पर्यटकलाई नेपाल फर्काउने वातावरण तयार बन्नेछ,’ उनले भने।
‘भारतीय टुर अपरेटर र नेपालका पर्यटन व्यवसायीलाई सहभागी गराई कैलाश मानसरोवर दुरदर्शनका लागि प्रयासरत छौं, क्यानको सहमति हुनासाथ यसले सार्थकता पाउनेमा विश्वस्त छौं,’ संयोजक सिग्देलले भने ‘कर्णाली नदीमा र्याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गर्ने कार्यक्रम तय गरिसकिएका छन्।’
सो क्रममा नेपाल पर्यटन बोर्डका सिइओ डा। धनन्जय रेग्मीले विदेशी पर्यटन ब्यवसायीलाई नेपालमा बोलाएर यहाँका पर्यटकीय गन्तब्यमा पुर्याई प्रत्यक्ष अनुभुती गराएर स्वदेशमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले ट्राभल मार्ट आयोजना गर्दै आएको बताए । ‘हामीले यसअघि गरेको ट्राभल मार्टले केही हदसम्म सकारात्मक उत्साह ल्याएर आएको थियो, जसले धेरै भारतीय पर्यटकलाई सजिलै नेपाल जान सकिन्छ भन्ने सन्देश गएको छ,’ उनले भने ‘हामी विदेशमा गएर प्रवद्र्धन गर्नुभन्दा उनीहरु यहाँ आफै अनुभुती गरेर गए भने नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रचार हुन्छ भन्ने हिसाबले ट्राभल मार्ट आयोजना गरिएको छ।’
मार्टमा स्टल प्रदर्शनी गर्ने टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्था र भारतबाट सहभागी हुने टुर अपरेटरबीच यस क्षेत्रका टुर प्याकेज बिक्री गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुने जनाइएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायीहरुबीच टुर प्याकेजहरुको आदान-प्रदान हुनेछ,’ सिग्देलले थपे। मार्ट आयोजनाले यस क्षेत्रका पर्यटकीय गन्तव्य तथा गतिविधिको प्रचार प्रचार हुन गई कैलाश मानसरोवर दुरदर्शन समेतका लागि माउन्टेन फलाईटको नेपालगन्जबाट सुरुवात गराई पर्यटक आगमनको संख्या बढ्न जाने आयोजकको अपेक्षा छ।
२७ पुष २०७९, बुधबार ०८:५८ प्रकाशित