११ पुस, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रचण्डले जनताको नाममा शपथ लिएका हुन् ।
प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएकी थिइन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
पद तथा गोपनियताको सपथ लिएलगत्तै नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।
ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान पनि मन्त्री बनेका छन् । उनीहरुको कार्यभार पछि तोकिने भएको छ । सबै मन्त्रीहरुले शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ दिएका छन् ।
बाँकी मन्त्रालयहरु सबै प्रधानमन्त्री प्रचण्डले आफूसँग राखेका छन् ।
११ पुष २०७९, सोमबार १७:०३ प्रकाशित