मंसिर २८, कोहलपुर । जनविश्वास बहुमुखी सहकारी संस्था कोहलपुरको २४ औं वार्षिक उत्सव तथा २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कोहलपुरमा सम्पन्न साधारणसभाले सहकारीको आगामी नेतृत्व समेत चयन गरेको छ ।
साधारण सभाबाट सहकारीको अध्यक्षमा नरेन्द्र प्रसाद पौडेल चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा कुवेर रिजाल, सदस्यहरुमा सुर्य पराजुली, हुमकला गिरि, रेशम सापकोटा, कृष्ण राना, लिलाबल्लभ तिवारी, पार्वती सुवेदी र नारायण प्रसाद गौतम सर्वसम्मत चयन भएको सहकारीका प्रबन्धक माधव पोखरेलले जानकारी दिए ।
साधारण सभाले नारायण थारु संयोजक रहेको लेखा समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा मोती भुषाल र शुसिला चापागाई रहेका छन । साधारण सभाको अवसरमा लेखा समितिका पुर्व संयोजक कृष्ण रानाले आफ्नो कार्यकालमा जम्मा भएको भत्ता रकमबाट ११ जना जेष्ठ नागरिकलाई जाडोमा ओढ्ने ब्लानकेट वितरण गरेका थिए ।
२४ औ वार्षिक उत्सवसँगै २० औं साधारण सभा सम्पन्न गरेको जनविश्वासले उत्कृष्ट कर्मचारी, उत्कृष्ट नियमित बचतकर्ता, जेष्ठ नागरिक, उत्कृष्ट शेयर सदस्यलाई जनही एक हजार नगद सहित दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान समेत गरेको थियो ।
७ करोड ५२ लाख निक्षेप संकलन
साधारण सभामा जनविश्वास सहकारीका अध्यक्ष होमप्रकाश सुवेदीले वर्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सुवेदीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार रु. २ करोड ३० लाख १० हजार ४९२ शेयर पूजीरहेको जनविश्वासले रु. ७ करोड ५२ लाख ७४ हजार ६०१ निक्षेप संकलन गरेको र रु. १० करोड ७६ लाख १० हजार १८१ कर्जा लगानी गरेको जनाईएको छ ।
अध्यक्ष सुवेदी चालु आर्थिक वर्षम सम्पुर्ण खर्च कटाएर सहकारीले रु. ३४ लाख ६२ हजार ४ सय ५५ रुपैयाँ नाफा गरेको बताए । उनले आफ्नै कार्यकालमा रु. १ करोड ५७ लाख ३६ हजार लगानीमा कोहलपुरमा सहकारी बजार संचालन गर्न सफल भएको भन्दै खुसी ब्यक्त गरेका थिए ।
२८ मंसिर २०७९, बुधबार २२:३० प्रकाशित