मंसिर २७, काठमाडौं । थाईल्याण्डको फुकेटमा जारी तेह्राैं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालकि चेलि श्वेता कपालीले दाेस्राे स्थान हासिल गर्दै रजत पदक जित्न सफल भएकी छन ।
पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै कपालीले महिला मोडल फिजिक्स विधामा पदक जित्न सफल भएकी हुन । च्याम्पियनसिप महिला मोडल फिजिक्स तर्फ फाईनल प्रवेश गर्ने क्रममा १० प्रतिस्पर्धीबाट उत्कृष्ट ५ मा पर्दै फाईनल प्रवेश गरेकी कपालीले तीन प्रतिस्पर्धी हंगेरी, थाईल्याण्ड तथा मंगोलियाकी खेलाडीहरुलाई उछिन्दै दोश्रो स्थान प्राप्त गर्न सफल भएकी थिईन् । यस विधामा चाइनाकी तु सुयत यान पहिलो हुँदै स्वर्ण पदक प्राप्त गर्न सफल भएकी थिईन् ।
थाईल्याण्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् संघको आयोजना भएको च्याम्पियनसिपको पुरुष ६५ केजी तौल समुहमा नेपालका प्रज्वलमान शाक्यले तेस्राे हुँदै कास्य पदक प्राप्त गर्न सफल भएका छन । प्रतियाेगितामा सहभागी ९ जना प्रतिस्पर्धीबाट प्रिजजिङ्ग राउण्ड पार गर्दै २ भारतिय, एक थाई र बहराइनका खेलाडीसंगै फाईनलका लागि चयन भएका प्रज्वलले भारत र थाईल्याण्डका खेलाडीलाई पछि पार्दै कास्य पदक जित्न सफल भएका हुन । यस तौल समूहमा बहराइनका अब्बास माकी अली प्रथम र भारतका योगेश निकाम द्वितीय भएका थिए ।
नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले आफ्नो ब्यक्तिगत तर्फबाट रजत पदक प्राप्त खेलाडीलाई नगद १ लाख ५० हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई नगद ७५ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।
२७ मंसिर २०७९, मंगलवार १६:२७ प्रकाशित