१६ चैत्र २०८०, शुक्रबार
अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि
  • काँचुली खबर

बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् । मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गते देखि लागू हुनेगरी साविकको २ सय रुपैयाँ मूल्यमा पाइने अक्सिजन ग्यास सिलिन्डरको मूल्य बढाएर ४ सय ५० रुपैयाँ बनाएका हुन् । हरेक जिल्लामा कालोबजारी नियन्त्रण गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारी तथा त्यसअन्तर्गत रहेका संयन्त्रको हो ।

तर, गृह मन्त्रालय अन्तर्गतको यो संयन्त्र कमजोर र निस्प्रभावी हुँदा व्यापारीले अक्सिजन ग्यासजस्तो संवेदनशील बस्तुमा दोब्बरभन्दा बढीले मूल्य बढाएका हुन् ।कारोबारलाई प्राप्त विवरणअनुसार नेपाल अक्सिजन ग्यास उत्पादक संघले नै देशभरका कम्पनी र डिलरलाई पत्र लेखी नयाँ मूल्यअनुसार विक्रीवितरण गर्न निर्देशन दिएको छ । निर्णय साउन १ गतेबाट लागू हुने जनाइएको छ । यसअघि उत्पादक कम्पनीहरूले प्रतिस्पर्धाका आधारमा डिलरलाई सस्तोमा अक्सिजन ग्यास उपलव्ध गराउँदा त्यसको प्रत्यक्ष फाइदा बिरामीमा परेको थियो । अब भने व्यापारीहरूको पछिल्लो निर्णयसँगै अस्पताल र घरमा रोगसँग संघर्षरत बिरामीले महँगोमा अक्सिजन ग्यास खरिद गर्नुपर्ने छ । जसका कारण अस्पतालमा उपचाररत बिरामीको उपचार खर्चसमेत बढ्ने छ ।

“संघको असार १९ गते सिद्धार्थ कटेज एन्ड रेस्टुरेन्टमा बसेको सम्पूर्ण अक्सिजन कम्पनीहरूको सामुहिक भेलाले साउन १ गतेदेखि अनिवार्य रूपमा लागू हुने गरी सानो सिलिन्डरको २ सय २५ र ठूलो सिलिन्डर ४ सय ५० रूपैयाँ मूल्य निर्धारण गरिएको छ,” संघले एक कम्पनीलाई लेखेको पत्रमा भनिएको छ, “साउन १ गतेदेखि पछिल्लो निर्णयअनुसार नै ग्यासको विक्रीवितरण गर्नुहुन पनि सबैलाई सूचित गराइन्छ ।”अक्सिजन विक्री सम्विन्धि व्यापारीको पछिल्लो निर्णयप्रति गृह मन्त्रालयले चासो जनाउँदै संलग्न दोषीलाई कारबाही गरिने स्पष्ट पारेको छ ।
गृह मन्त्रालयले व्यापारीले मूल्य बढाएर अक्सिजन ग्यास विक्री गरेको पाइए तत्काल पक्राउ गरी कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ । यसका लागि स्थानीय प्रशासनलाई तत्काल छानबिन गरी संलग्न व्यक्तिलाई पक्राउ गर्न छिट्टै सर्कुलर गरिने गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।उपत्यकामामात्र अक्सिजन विक्री गर्ने १ सयभन्दा बढी डिलर छन् । अब असार मसान्तसम्म २ सय रुपैयाँमा पाइने ४७ लिटर अक्सिजन ग्यास सिलिन्डरको मूल्य ४ सय ५० र १ सय रुपैयाँमा पाइने १० लिटर ग्यासको मूल्य २ सय २५ रुपैयाँ पर्ने छ ।

 

स्रोत : कारोबार

  • २९ असार २०७५, शुक्रबार २२:२५ प्रकाशित
  • Nabintech