जनताकाे सेवक भएर काम गर्छु : अकल बहादुर बम
  • काँचुली खबर

कात्तिक ४, नेपालगन्ज । नेकपा (माओवादी केन्द्र)का नेता तथा बाँके क्षेत्र नं २(ख) का प्रदेशसभा सदस्य उम्मेदवार अकल बहादुर बमले आफूले जनतालाई आश्वासनमात्रै नभएर काम गरेर देखाउने बाचा सहित उम्मेदवारी दिएकाे बताएका छन् । उनले जनतालाई झुक्याउनेलाई नभएर काम गर्ने सक्ने उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गरेका छन् ।

बाँके क्षेत्र नं २(२) काे चुनावी प्रचार प्रसार कार्यालयहरू उद्घाटन गर्ने क्रममा पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उनले जनता झुक्याउने नेतालाई यसपालीको चुनावले नै जवाफ दिने ठोकुवा पनि गरे ।

‘मैले यहाँ तपाईंहरूलाई गफ दिइरहेको छैन । आश्वासन र सपनाहरू बाँडिरहेको मात्रै छैन । यसअघि पनि यो क्षेत्रले सांसद पायो । जिल्लाले प्रधानमन्त्री पनि पायो, मन्त्री पायो तर नेपालगन्जले के पायो ? यो क्षेत्रका जनताले के पाए ? यहाँ के विकास भयो ?’ उनले भने, ‘पहिलो पटक चुनाव लडिरहेको छु । जनताको चौकीदार बन्न राजनीतिमा आएको हुँ ।’

देशमा संघीयता र गणतन्त्रको लडाईंमा अग्रणी भूमिका खेलेर परिवर्तनलाई संस्थागत गर्न आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहेको भन्दै व्यवस्थालाई उन्नत बनाउन र जनताकाे अवस्थामा परिवर्तन ल्याउनका लागि पनि एकपटक याे पार्टीलाई मौका दिन उनले अपिल गरे । तपाईंहरूको यो विश्वासलाई डगमगाउन दिनेछैन । नेपालगन्जमा विकासको लहर लिएर मतदातासँगै रहने उनले प्रतिवद्दता जनाएका छन ।

चुनाव प्रचार प्रसारका लागि माओवादी केन्द्र नेपालगन्जले निर्वाचन क्षेत्र नं. २(ख)का सबै वडाहरूमा प्रचार प्रसार कार्यालयहरू खोलिरहेको छ । शुक्रबार  पनि नेपालगञ्जका विभिन्न वडाहरूमा सम्पर्क तथा प्रचार प्रसार कार्यालयहरू खुल्ने माओवादी केन्द्र नेपालगझ प्रचार विभागले जानकारी दिएकाे छ । जस अनुसार नेपालगञ्ज उपमहानगर वडा नं ४ को बाइपास राेडमा चुनावी प्रचार कार्यालयकाे उद्घाटन गरिएकाे छ । आजै नगर पार्टी कार्यालय मा रहेको निर्वाचन मुख्य सचिवालयको कार्यालय उद्घाटन कार्यक्रम रहेकाे निर्वाचन परिचालन कमिटीका संयाेजक नविन शर्माले जानकारी दिएका छन ।

  • ४ कार्तिक २०७९, शुक्रबार १७:२३ प्रकाशित
  • Nabintech