बाँकेका अधिकांश स्थानीय तह डुबानमा
  • काँचुली खबर

असोज २४, नेपालगन्ज (रासस)

केहीदिन यतादेखि निरन्तर परेको वर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुबान तथा बाढीले प्रभावित भएका छन । प्राकृतिक विपद्का कारणले करिव ५०० घरपरिवारका कम्तीमा ३ हजार ५०० विस्थापित भएका छन् । सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन् ।

राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा ३०० घरधुरी विस्थापित भएको जिल्ला विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

“विस्थापित भनेका जोखिम देखेर घर छाडनेहरु हुन” उनले भने । विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र स्कुलमा सुरक्षित स्थानमा राखिएको र केही घर समेत फिर्ता भएको उनले बताए । बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको छ ।

त्यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरि र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ र २० का तीन सय भन्दा बढी बासिन्दा पनि डुबानबाट विस्थापित भएका छन । बाढीले नरैनापुरका २ सय घर भत्केका छन् ।

त्यहाँका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए ।

उनले पीडितलाई राहत र उद्धारका लागि पटक पटक अनुरोध गरेको जानकारी दिदै चारदिनदेखि विद्युत समेत नभएको बताए । नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनहा लगायत धेरै बस्ती डुबानमा परेका छन् ।

“यहाँका सबै स्थान पानीले भरिएको छ,”उनले भने । जिल्ला विपद व्वस्थापन समितिको बैठकले बाढी प्रभावतिको तथ्यांक संकलन गर्ने, तत्कालका लागि सुख्खा खाना उपलब्ध गराउने निर्णय गरेको छ ।

वढी र डुवानबाट पीडित भएकालाई पुनःस्थापना र राहतका लागि विपद व्यवस्थापन समितिसँग समन्वय गरेर स्थानिय सरकारले राहत उपलब्ध गराउने निर्णय समेत भएको सूचना अधिकृत ज्ञवालीले जानकारी दिए ।

डुडुवामा राहत व्यवस्थापन

डुडुवा गाउँपालिकामा बाढी पीडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सयलाई पुग्ने गरी तत्काल तयारी खाजा र खानाको व्यवस्था गरेको बताएका छन् ।

डुडुवा १ का छिटाईपुर्वास्थित दुई पाझा टोलका करिब १ सय २० जना र सोही वडाअन्तर्गत कृषि चौफेरी, वोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब २ सय ५० अहिले बाढी र डुबानबाट वस्थापित भएर गाउँ नजिकै पालिकाले निमार्ण गरेको आश्रयस्थलमा उनीहरु बसिरहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

उनका अनुसार गाउँ र घर बाढीले सबै डुबान गरेपछि आश्रयस्थलमा पुगेका स्थानीयहरुलाई अहिले तत्काल तयारी खाजा र ४-५ दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ ।

उहाँले केही दिनसम्म स्थानीय पीडितहरु भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गर्दै गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने जानकारी दिए ।

  • २४ आश्विन २०७९, सोमबार ०८:५८ प्रकाशित
  • Nabintech