१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा महिला क्रिकेट एकेडेमी र डाटा सेन्टर निर्माण गरीने
  • पुष्पराज हमाल

जेठ १६, काठमाण्डौं । बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रंगशाला निर्माण गरीने भएको छ । आईतबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर)ले कोहलपुरमा निर्माण गर्ने भनिएको महिला क्रिकेट एकेडेमी तथा रंगशालाकालागि आवश्यक बजेट विनियोजन गरेको बताएका छन ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले गत मंसिर ५ गते कोहलपुर महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका थिए । मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै मन्त्री अथकले पहिलो निर्णयका रुपमा कोहलपुरमा महिला क्रिकेट एकेडेमी स्थापना गर्ने घोषणा गरेका थिए ।

यसैगरी कोहलपुर र ललितपुरको खुमलटारमा डाटा सेन्टरको भौतिक पुर्वाधार निर्माण कार्य प्रारम्भ गरिने बजेटमा उल्लेख छ । धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माणको सम्भाव्यता अध्ययन गरिनेछ ।

बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिचाइँ आयोजनाका लागि १ अर्व ८८ करोड रुपैयाँ विनियोजन भएको छ । आयोजनाको पश्चिम मुल नहर मर्मत र सञ्चालनलाई निरन्तरता दिनुका साथै पुर्वी मुल नहरको २६ किलोमिटर र त्यस शाखा नहरहरु निर्माण सम्पन्न गर्न उक्त बजेट विनियोजन गरिएको छ ।

यस्तै पोखरा र नेपालगन्जमा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्रविधि जडान गरी उन्नत नश्लका साँढे र राँगा ल्याई सिमेन उत्पादन गर्न बजेट विनियोजन गरिएको छ । आगामी वर्ष २ लाख गाई र २ लाख भैसीको उन्नत नश्लको सिमेनबाट कृत्रिम गर्भाधान सेवा उपलब्ध गराइने बजेट वक्तब्यमा उल्लेख छ ।

नेपालगन्ज एकिकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न गरिने पनि उक्त बजेट वक्तब्यमा उल्लेख गरिएको छ ।

  • १६ जेष्ठ २०७९, सोमबार ०८:०४ प्रकाशित
  • Nabintech