१४ बैशाख २०८१, शुक्रबार
एक आपसमा खेल्दा चक्कु रोपिएर बाँकेमा एकको मृत्यु
  • काँचुली खबर

जेठ १४, नेपालगन्ज । नेपालगञ्जको फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी एकआपसमा खेल्दा खेल्दै एकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले दिएको जानकारी अनुसार सो मदरसामा अध्ययन गर्दै आएका कास्की रुपाकोट-६ का १६ वर्षिय जामुदिन मियाँको छातीमा चक्कु रोपिएर गम्भीर घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो ।

गत जेठ १२ गते साँझ ५ बजे भएको घटना अनुसार मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षिय मो. आशिक एक आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाँको देब्रे छातिमा मुटुमै रोपिन गई गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार मदरसाले उपलब्ध गराएको सिसिटिभी फुटेजमा दुबैले छातिले एक अर्कालाई धकेला धकेल गर्दै गर्दा मियाँलाई आशिकले देब्रे छातिमा चक्कु रोपेको देखिएको छ ।

खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो वा पहिला नै योजनाबद्ध भएको घटना हो प्रहरीले अनुसंन्धानकै क्रममा रहेकोले सो बारेमा खुलाएको छैन । भने मदरसाको तर्फबाट पनि घटनाको बारेमा जानकारी गराईएको छैन ।

घाइते अवस्थामा उपचारको लागि भारतको लखनउ पुराईएको मियाको जेठ १३ गते राती १० बजे उपचारको क्रममा मृत्यु भएको बतईएको छ । प्रहरी नायव उपरिक्षक न्यौपानेले भने, ‘ उपचारको क्रममा रहेको मियाँको १३ गते राती १० बजे नै मृत्यु भएको रहेछ । प्रहरीलाई १४ गते विहान मात्र यसको जानकारी हो ।’

उनले घटनामा संलग्न रहेको आशिक प्रहरी नियन्त्रणमा रहेको र मृतकको शव भारतको लखनउबाट नेपालगञ्ज ल्याई र भेरी अस्पतालमा पोष्टमार्टमको लागि राखिएको बताए ।

उनले भने, ‘ मृतकको परिवार र आफन्त नेपालगञ्ज पुगीसक्नु भएको छ । पोष्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाउने र आफन्तबाट किटानी जाहेरी लिएर प्रहरी अनुसंन्धान अघि बढाईने छ ।’ समाचार तयार पार्दसम्म प्रहरीमा आफन्तको तर्फबाट कुनै जाहेरी परेको छैन ।

सदरलाईन डटकमबाट

  • १४ जेष्ठ २०७९, शनिबार १७:४७ प्रकाशित
  • Nabintech