जेठ १४, कोठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेका हुन ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले सफलताको शुभकामना दिएका छन ।
नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले जानकारी दिए ।
सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । जसकालागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सस जान लागेको हो ।
सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ । लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।
नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ । नेपालले सिरिज अघि दुई अभ्यास खेल खेल्नेछ । क्यानले नेपाली टोलीले अमेरिकामा रहेका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्स र ह्युस्टन हरिकेन्ससँग एकदिवसीय अभ्यास खेल खेल्ने जनाएको छ ।
नेपालले अल स्टार्ससँग जुन २ र हरिकेन्ससँग जुन ४ मा खेल्ने तालिका रहेको छ ।
१४ जेष्ठ २०७९, शनिबार १६:४१ प्रकाशित