५ जेष्ठ २०८१, शनिबार
उपमेयरका उम्मेदवारहरुसँग कोहलपुरमा अन्तरक्रिया
  • काँचुली खबर

कोहलपुर, २५ वैशाख / हिंसा प्रभावित महिलाको मानवअधिकारका लागि लड्ने कोहलपुर नगरपालिकाका उपमेयर पदका उम्मेदवारहरुले बताएका छन् ।

मेची महाकाली सयुक्त आवाज कोहलपुर बाँकेले गरेको उपमेयर पदका उम्मेदवारहरुसँगको छलफलमा उनीहरुले पीडितलाई न्याय र अधिकार स्थापित गर्न तथा प्रभावितलाई न्याय दिलाउन उनीहरूको पक्षमा वकालत गर्ने बताएका हुन् । मेची महाकाली संयुक्त आवाज कोहलपुरकी अध्यक्ष उर्मिला पाण्डेको अध्यक्षतामा भएको छलफल कार्यक्रममा लुम्बिनी प्रदेश साँसद पार्वती पुन (उषा) प्रमुख अतिथी रहेकी थिईन् ।

प्रमुख अतिथी पुनले अहिले पनि महिलाहरु घर बाहिर निस्कन नसकेको बताईन् । उनले महिलाहरु विभिन्न सामाजिक, आर्थिक रुपमा पछि पर्दै आईरहेको उल्लेख गरिन् । उनले उपमेयर पदका उम्मेदवारहरुलाई विजयी भएपश्चात महिलाहरुका सवाललाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र तथा एकिकृत समाजवादीका तर्फबाट साझा उम्मेद्वार नारायणी वलीले महिलाहरुको क्षेत्रमा विषेश काम गर्न आफ्नो उम्मेदवारी भएको बताईन् । वलीले राज्य वा गैरराज्यबाट गरिने लैंगिक भेदभाव र परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेको बताईन् ।

उनले महिलामाथी हुने जुनसुकै हिंसा तथा आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट बन्चित महिलाहरुको वकालत गर्दै जाने बताईन् ।

कार्यक्रममा नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी संगीता सुवेदीले न्याय र अधिकारका लागि आफू जहिल्यै पनि कटिबद्ध भएर लाग्ने बताईन् । महिलाहरुको समान ज्यालादेखि लिएर मजदुर गर्ने महिलाहरुको सुरक्षाका लागि विषेश योजना बनाएर काम गर्ने उल्लेख गरिन् । उनले बजार अनुगमनलाई पनि प्राथमितामा राखेको उल्लेख गरिन् ।

यता राप्रपा नेपालबाट उपमेयर पदका उम्मेदवार बनेका कपिल शाहले आफ्नो पार्टीले महिलाहरुलाई विषेश प्राथमिकतामा राखेको बताए । शाहले महिलालाई पार्टीको तर्फबाट मेयरको टिकट दिएको उल्लेख गर्दै महिलाहरुसँग पनि उच्च क्षमता रहेको बताए । उनले महिलाहरुको समान सहभागिताका लागि आफ्नै घरबाट सुरु गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा वडा नं. ११ बाट वडाध्यक्ष पदका उम्मेदवार कल्पना अधिकारीले समाजमा जस्तो सुकै परिवर्तन भए पनि महिलाले परिवर्तनको अनुभूति गर्न नसकेका बताईन् । उनले पितृसत्तात्मक व्यवस्थाका कारण सदियौँदेखि विभेदको शिकार हुँदै आएका महिला उपर हुने ज्यादतीको अन्त्यका लागि महिला स्वय सक्रिय हुनुपर्ने बताईन् । महिलाको लागि शिक्षामा पहुँच र सम्पत्तिमाथिको स्वामित्व स्थापितगरी कुरीति र कुसंस्कारको रूपमा रहेको अन्धविश्वासलाई आफू अध्यक्षमा निर्वाचित भए हटाउन सक्ने बताईन् ।

  • २५ बैशाख २०७९, आईतवार १०:२३ प्रकाशित
  • Nabintech