११ बैशाख २०८१, मंगलवार
कोहलपुरका १ सय ४२ विद्यार्थीमा सिकलसेल ‘पोजेटिभ’
  • काँचुली खबर

कोहलपुर नगरपालिका भित्रका ६ वटा सामुदायिक विद्यालयमा अध्यनरत थारु समुदायका विद्यार्थीहरुको रक्त परीक्षण गराउँदा १ सय ४२ जना विद्यार्थीहरुमा सिकलसेल एनिमियाको पोजेटिभ देखिएकोे छ । यही असार १२ गते देखि १८ गते सम्म कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु श्री राम मा.वि. हवलदारपुर, जनता मा.वि. मैटहवा, त्रिभुवन मा.वि. कोहलपुर, लक्ष्मी मा.वि. वर्दहवा, ज्ञानज्योति मा.वि. चपरगौडी र सिद्धार्थ आदर्श मा.वि. रझेना गरी ६ वटा विद्यालयमा सिकलसेल एनिमियाको लागि रक्त परिक्षण गराईएको थियो । तराइका थारु समुदायमा मात्र हुने सो रोग वंशानुगत रुपमा उनीहरुमा संक्रमण हुने रोग हो ।

विद्यालयमा अध्ययन गर्ने थारु समुदायका विद्यार्थीहरुमा यो रोगको अवस्था थाहा पाउन विद्यालयमा रक्त परीक्षण गरिएको कोहलपुर नगर स्वास्थ्य शाखाका उपसंयोजक विद्यासागर मैनालले बताए । मैनालका अनुसार सिकलसेल परीक्षणका राम मा.वि हवलदारपुरमा अध्ययनरत थारु समुदायका १ सय ६८ जना विद्यार्थीको सेम्पल लिइएकोमा ११ जनामा सिकलसेल एनिमियाको पोजेटिभ देखिएको छ । त्यस्तै जनता मा.वि. मैटहवामा ३ सय ५१ जना ३८ जना, त्रिभुवन मा.वि. मा १ सय ८९ जनामा १५ जना, लक्ष्मी मा.वि वर्दहवामा ३ सय २२ जनामा ३३ जना, सिद्धार्थ आधारभुत मा.वि रझेनामा १ सय ६१ जनामा ३३ जना, ज्ञानज्योति मावि चपरगौडीमा १ सय ६१ जनामा १२ जना विद्यार्थीहरुमा सिकलसेल एनिमियको पोजेटिभ देखिएको छ । ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत थारु समुदायका १ हजार ३ सय बाउन्न विद्यार्थीहरुको रक्त परिक्षण गराउँदा १ सय ४२ जनामा सिकलसेल एनिमियाको पोजेटिभ देखिएको हो ।

सिकलसेल एनिमियाको पोजेटिभ देखिएको रगतको अन्तिम रक्त परिक्षण अर्थात ‘फाइनल रिपोर्ट’ का लागि ‘इलेक्ट्रोफोरोसिस’ जाँच गराउनु पर्ने र सो जाँच गर्ने ल्याप मध्य तथा सुदुर पश्चिममा भेरी अञ्चल अस्पतालमा मात्र रहेको मैनालले बताए । तर यस्तो जाँच गराउँदा प्रयोग हुने क्यामिकल फ्रान्सबाट आउने भएकाले काठमाण्डौंमा केही दिन अघि मात्र आइपुगेको र अब भेरी अञ्चल अस्पतालमा आइपुगे पछि अन्तिम जाँच हुने मैनालले बताए । सिकलसेल एनिमियाको संक्रमण वंशाणुगत रुपमा आमा-बुवाबाट छोराछोरीमा हुने र यसले गोलाकारका रक्तकोषहरुलाई हँसियाको आकारमा परिणत गराईदिन्छन । हँसियाको आकारमा रक्तकोषहरु परिणत भएपछि मानिसको शरिरमा सजिलैसँग रगत बग्न पाउँदैन, जसले गर्दा शरिरमा अक्सीजनको मात्रा कम भई शरिरका बिभिन्न अङ्गमा दुखाई सुरु हुने चिकित्सकले बताए ।

मानिसको शरिरमा रहेका रक्तकोषहरुको आयु सामान्यतया १ सय २० दिनसम्म हुन्छ । तर सिकलसेल भएका रक्तकोषहरुको आयु १० देखि २० दिनसम्म मात्र हुने हुँदा यस रोगका बिरामीहरुलाई रक्तअल्पता हुने गर्दछ । रक्त अल्पता भए पश्चात बिरामी हुने, थकाई लाग्ने, सास फेर्न गाह्रो हुने, छाती, पेट, हात, खुट्टा, ढाडमा कडा खालको दुखाई हुने, कमलपित्त हुने, आँखा दुख्ने र अन्धोपन हुने, पक्षघातसमेत हुने, ज्वरो आउने, वाकवाक लाग्ने, खोकी लाग्ने जस्ता लक्षणहरु देखापर्ने चिकित्सकहरु बताउँछन । अन्तिम रक्त परिक्षणमा पनि सिकलसेल एनिमियाको पोजेटिभ देखिएमा त्यस्ता रोगीहरुलाई औषधी सेवनका लागिनेपाल सरकारले प्रति व्यक्ति रु. १ लाख आर्थिक सहयोग गर्ने व्यवस्था रहेको छ ।

  • २६ असार २०७५, मंगलवार १०:५१ प्रकाशित
  • Nabintech