निर्वाचनका लागि संयन्त्र बनाउने सत्ता गठबन्धनको निर्णय
  • काँचुली खबर

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने भएको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले त्यस्तो संयन्त्र बनाउने निर्णय गरेको काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए ।

‘आगामी वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको छ । त्यसका निमित्त दलहरूका प्रदेशमा प्रदेश इन्चार्ज, जिल्लामा जिल्ला स्तरीय नेता र गाउँपालिकामा पनि प्रमुखहरुको संयन्त्र बन्छ’, सञ्चारमन्त्री समेत रहेका कार्कीले भने । तीनै तहका संयन्त्रले वस्तुगत तथ्य पेश गरेपछि त्यसबारे थप निर्णय गर्ने बताए ।

उनले ती संयन्त्रलाई आगामी चैत २२ गतेभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको पनि जानकारी दिए । कार्कीका अनुसार आगामी स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेरै चुनावमा जाने निर्णय भएको पनि जानकारी दिए ।

  • १७ चैत्र २०७८, बिहीबार १६:०६ प्रकाशित
  • Nabintech