सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले काठमाडौंको किर्तिपुरको गाँउब्लकमा रहेका भूमि विहिनहरुलाई जग्गा धनी प्रमाण पूूर्जा वितरण गरेकी छन ।
किर्तिपुर नगरपालिका वडा नं. ५ पागामा गाँउब्लकका ३२ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै मन्त्री श्रेष्ठले यहि चैत १५ भित्र थप पाँच जिल्लामा रहेको गाँउब्लकमा लालपूूर्जा वितरण गर्ने गरी तयारी भइरहेको बताईन ।
उनले आगामी आर्थिक वर्षभित्र देशभरका सबै गाँउब्लकमा लालपूर्जा वितरण गर्ने गरी कार्यक्रम र बजेट व्यवस्था गर्न लागिएको पनि बताईन ।
मन्त्री श्रेष्ठले लेखेर र भाषण गरेर मात्रै नागरिकले अधिकार प्राप्त गर्न नसक्ने भन्दै इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई आग्रह गरीन ।
राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दुःखमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाई गर्न पनि स्थानीय तहका पदाधिकारीलाई उनले निर्देशन दिएकी छन ।
मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था अनुसार भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थीत बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम अगाडी बढाइएको र जिल्ला आयोग गठनको काम भइरहेको पनि बताईन ।
विशेष गरी काडमाडौं उपत्यका र देशका विभिन्न भागमा समेत रहेका स्वबासी र बेनिसाको समस्या समाधान गर्न पनि आफूूले प्रक्रिया शुरु गरिसकेको भन्दै मन्त्री श्रेष्ठले मुक्त कमैया, कमलरी, हरुवा चरुवाको समस्या समाधान गर्न अध्ययन समिति बनाएर अध्ययन गर्ने काम भइरहेको बताईन ।
मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि शहिद, वेपत्ता परिवारका छोराछोरी, हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडी बढाइसकेको जानकारी दिईन ।
मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाँउब्लकका करिब १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र जग्गा भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको छ ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरी, सप्तरी, धनुषा, सुनसरी र चितवन जिल्लाका विभिन्न गाँउब्लकमा रहेका भूूमिहिनलाई लालपूर्जा वितरण गरीसकेकी छन ।
१ चैत्र २०७८, मंगलवार २०:५५ प्रकाशित