नेपालगन्ज उपमहानगरपालिकाले ठेक्का लगाएका बेनामे ठेकेदारले नेपालगन्जका विभिन्न स्थानका सडकमा सवारी साधनहरु पार्किङ गराई सर्वसाधारणसङ्ग शुल्क उठाइरहेको पाइएको छ ।
बिशेष गरी सर्वसाधारणको बाक्लो उपस्थिति हुने नेपालगन्जका सरकारी कार्यालयहरु यातायात र मालपोत कार्यालय अगाडिको सडकमै सवारी साधन पार्किङको नाममा सर्वसाधारणहरुसङ्ग बेनामे ठेकेदारले शुल्क उठाइरहेका छन ।
मालपोत कार्यालयको अगाडि सडकको किनारा र सडक पेटीमा साइकल, मोटरसाइकल र रिक्सा पार्किङ गराई ठेकेदारले शुल्क उठाउने गरेका छन । शुल्क रसिदमा ठेकेदारको कम्पनीको नाम वा ठेकेदारको नाम देखिदैन । नेपालगन्ज उपमहानगरपालिकाबाट स्वीकृत प्राप्त भनेर ‘व्यवस्थापन पार्किङ स्थल’ मात्र उल्लेख गरिएको छ ।
शुल्क रसिदमा ठेकेदार वा ठेकेदारको कम्पनीको नाम उल्लेख हुनुपर्ने र सडकको किनारा र सडक पेटीमा नभई छुट्टै कुनै स्थानमा पार्किङ स्थल तोकेर मात्र शुल्क उठाउनु पर्ने बताउँछन् एक सर्वसाधारण । ‘रसिदमा ठेकेदार र उस्को कम्पनीको नाम छैन, यस्तो बेनामे रसिद छपाएर सडकमा जस्ले शुल्क उठाए पनि भयो नि’ उनले भने ।
नेपालगन्ज उपमहानगरपालिका भने नेपालगन्जका केही स्थानमा टेण्डरमार्फत अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाई शुल्क उठाउनका लागि ठेक्का दिएको भन्दै ठेकेदारमार्फत सडक र सडक पेटीमै पार्किङ गराए वापतको रकम असुलिरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख बीरबहादुर थापाले नेपालगन्जको यातायात, मालपोत र जमुनाह नाका अगाडी सवारी साधनलाई व्यवस्थित पार्किङका लागि टेण्डरमार्फत नगर बोर्ड बैठकको निर्णय अनुसार केही व्यक्तिलाई ठेक्का दिएको बताए । उनले यातायात र मालपोत अगाडी एउटै व्यक्तिले र जमुनाह नाका अगाडी अर्कैले ठेक्का लिएको बताए ।
उनले यातायात र मालपोत अगाडी साइकल, मोटरसाइकल र रिक्सा लगायत तथा जमुनाह अगाडी टेम्पू, रिक्सा, म्याजिक लगायतका सवारी साधनलाई व्यवस्थित पार्किङ गर्नका लागि ठेकेदारलाई ठेक्का दिएको बताए ।
ट्राफिक कार्यालय नेपालगन्जका प्रमुख प्रहरी नायव निरीक्षक लक्ष्मण बहादुर ऐरले उक्त स्थानमा एक साईडमा मात्र पार्किङ भएको हुँदा ट्राफिक व्यवस्थापन सहज भएको बताउँछन् । ‘पहिला सर्वसाधारणले सडकको दुवैतिर सवारी साधन जथाभावी पार्किङ गर्थे, त्यहीँ ठेला, रिक्सा हुँदा सडक जाम हुन्थ्यो, अहिले उपमहानगरपालिकाले ठेक्का लगाएपछि एक साईडमा मात्र पार्किङ भएको छ, जस्ले गर्दा जाम हुने अवस्था हटेको छ ।’ उनले भने ।
यातायात र मालपोत कार्यालय अगाडी पहिलेदेखि सडकको किनारामा जसरी सवारी साधनहरु सर्वसाधारणले पार्किङ गर्थे अहिले पनि त्यसैगरी पार्किङ हुन्छन । फरक यत्ति छ पहिला सर्वसाधारणले निशुल्क आफ्ना सवारी साधन राख्थे भने अहिले ‘व्यवस्थापन पार्किङ स्थल’को नाममा शुल्क तिर्नुपर्छ ।
४ फाल्गुन २०७८, बुधबार ११:१९ प्रकाशित