एमसिसीको बिरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आह्वान गरेको देशव्यापी बन्दको प्रभाव नेपालगन्जमा देखिएको छ ।
नेपालगन्जमा बिहानैदेखि लामो तथा छोटो दुरीका कुनैपनि गाडी गुडेका छैनन भने बिद्यालय पनि ठप्प रहेका छन । बजार सामान्य खुलेको छ भने रिक्सा, मोटरसाइकल तथा निजी कारजीपहरु छिटफुट रुपमा गुडेको देखिन्छ । फोहोर फाल्ने गाडी, एम्बुलेन्स, दूध बोक्ने गाडी लगायतका अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधन भने संचालनमा आएका छन ।
नेपालगन्जको चोक चोकमा सशस्त्र र नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको छ । अहिलेसम्म जिल्ला भित्र त्यस्तो अप्रीय घटना भने कतै नभएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधूसुदन न्यौपानेले बताएका छन ।
एकाबिहानै जबर्जस्ति बन्द गराउदै हिडेको र सडकमा टायर बाल्न खोज्दै गरेको भन्दै नेपालगन्जको गणेशमान चोक नजिकबाट नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रिय सदस्य सलमान राई, जिल्ला अध्यक्ष अजित प्रसाद (भगत सिंह) र बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता वसन्त खत्रीलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधूसुदन न्यौपानेले जनाएका छन ।
४ फाल्गुन २०७८, बुधबार १०:१६ प्रकाशित