रातीको समयमा विभिन्न ठाउँमा गएर पेस्तोल देखाई डर धम्की दिई लुटपाट गरेको आरोपमा बाँके प्रहरीले दुई जना भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई शनिबार बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ बुढियागाउँबाट १ थान कटुवा पेस्तोलसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत बहराइच जिल्ला रुपैडिहा निबियाका २६ बर्षिय डब्लु मनिहार र बाबागन्ज बाबाकुटीका २८ बर्षिय निजामुद्दिन कवडिया रहेका छन ।
प्रहरीका अनुसार, उनिहरुले गत पुस २९ गते राती बढैयाताल गाउँपालिका वडा नम्बर ८ सितबजार बर्दियाका पर्शुराम सार्कीको घरबाट पेस्तोल देखाई ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेका थिए । त्यसैगरी, माघ १७ गते खजुरा गाउँपालिका डि गाउँका हरीप्रसाद बिकको घरबाट पेस्तोल देखाई ५० हजार रुपैयाँ नगद, साढे तीन तोला सुन र २२० सिसीको पल्सर मोटरसाइकल लुटेका थिए ।
बिकको उक्त मोटरसाइकल बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५, बढैयाताल नजिक रहेको पोखरीमा माघ १८ गते साँझ फेला परेको प्रहरीले बताएको छ ।
पेस्तोलसहित पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।
२९ माघ २०७८, शनिबार १४:२१ प्रकाशित