८ बैशाख २०८१, शनिबार
जानकी गाउँपालिका बन्यो स्वमूल्यांकन नतिजा प्रकाशनमा लुम्बिनी प्रदेशमै पहिलो
  • काँचुली खबर

बाँकेको जानकी गाउँपालिका आर्थिक वर्ष २०७७/७८ को स्थानीय सरकारको विकास तथा सुशासनको नजिता प्रकाशनमा लुम्बिनी प्रदेशमै पहिलो बनेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ (लिसा)को सूचक अनुसार नजिता प्रकाशनमा जानकी गाउँपालिका लुम्बिनी प्रदेशमै पहिलो बनेको हो ।

अन्य स्थानीय तहले संस्थागत क्षमता स्वमूल्याकन प्रशिक्षण गरे पनि सोको नतिजा प्रकाशन गर्न नसकेका बेला जानकी भने बाँके जिल्ला र लुम्बिनी प्रदेशकै पहिलो तथा नेपालकै तेस्रो गाउँपालिका बनेको छ ।

जानकी गाउँपालिकाले १०० अंकभारमा जम्मा प्राप्ताङ्क ७०.२५ प्रतिशत अंकभारसहित नतिजा प्रकाशन गरेको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत बिकास जिसीले जानकारी दिए । जानकी जिल्ला र प्रदेशको पहिलो र देशकै तेस्रो स्वमूल्याकन नतिजा प्रकाशन गर्ने पालिका बनेको उनले बताए ।

गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत बसबहादुर रानाले लिसाको कार्यविधिमा व्यवस्था गरिएका १० वटा विषयगत क्षेत्रमध्ये ३ वटा तहमा जानकी देशकै तेस्रो र प्रदेश तथा जिल्लामै पहिलो हुनु गर्वको विषय भएको बताए । उनले भने, ‘गत बर्षको तुलनामा यस बर्ष सोंचेजस्तो नतिजा आउँदा खुशी भएका छौं ।’

जानकी गाउँपालिका देशभर तेस्रो तथा प्रदेश र जिल्लामा पहिलो भएकोमा खुशी व्यक्त गर्दै प्रमूख प्रशासकीय अधिकृत रानाले आगामी दिनमा उत्कृष्ठ गाउँपालिका बनाउन सबै कर्मचारीहरु दतचित्त भएर लाग्ने पनि बताए । उनले भने, ‘गत बर्षभन्दा यस बर्ष धेरै राम्रो गरेका छौं । आगामी बर्ष हामी देशकै पहिलो पालिका बन्छौं ।’

जानकीले १०० अंकभारमा जम्मा प्राप्ताङ्क ७०.२५ प्रतिशत ल्याएको छ भने समग्र स्थिति ७०.२४ प्रतिशत, प्रक्रियागत स्थिति ६१.७६ प्रतिशत र परिमाणात्मक स्थिति ७६.६७ प्रतिशत अंक छ ।

संघीय सरकारले स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भए अनुसार देशभरका सबै स्थानीय तहले आफुले गरेका कामको आफै समीक्षा गर्नुपर्ने नीतिगत प्रावधान अनुसार नजिता प्रकाशनमा देशकै तेस्रो र प्रदेश तथा जिल्लामै पहिलो गाउँपालिका बनेर बाँकेका अन्य स्थानीय तहभन्दा जानकी प्रदेश तथा जिल्लाकै अब्बल पालिका बनेको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकन कार्यविधि, २०७७ ले हरेक पालिकाले पुस मसान्तसम्म गत आर्थिक वर्षको संस्थागत क्षमता स्वमूल्याड्कन गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त कार्यविधि अनुसार स्वमूल्याड्कन नतिजामा ८० अङ्क भन्दा वढी उत्कृष्ट, ६० देखि ७९ सम्म राम्रो, ४० देखि ५९ सम्म कमजोर, ४० भन्दा कम अति कमजोर मानिन्छ ।

  • ३० पुष २०७८, शुक्रबार २०:५७ प्रकाशित
  • Nabintech