बाँकेका सिख समुदायले ३२३औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई नेपालगञ्जमा विविध कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाउने भएको छ ।
नेपालगञ्ज सुर्खेतरोडस्थित गुरुद्धारामा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर बैशाख १, २ र ३ गते भव्य रुपमा ३२३औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई मनाइने जानकारी गराईएको हो ।
गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगञ्जका अध्यक्ष राजेन्द्रसिंह सरदारले गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएको आयोजनामा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेर खालसा साजना दिवस र बैशाखी पर्वलाई भव्य रुपमा मनाइने तयारी भैरहेको जानकारी दिए ।
उनले खालसा साजना दिवस र बैशाखी पर्वको उपलक्ष्यमा आयोजना गरिने कार्यक्रम र समारोहलाई आ(आफ्नो मिडियामार्फत संसारभरि फैलाउन सहयोग गरिदिन पत्रकारहरुसंग आग्रह गरे ।
कार्यक्रम अनुसार बैशाख १ गतेदेखि ३ गते विहानसम्म गुरुद्धारामा अखण्ड पाठको आयोजना गरिने छ । सो अवधी भर लंगर र भण्डाराको समेत व्यवस्थापन गरिनेछ । बैशाख ३ गते ११ बजेदेखि विभिन्न झाँकसिहितको शोभा यात्राले नगर परिक्रमा गर्नेछ । सो यात्रामा भारतबाट आएका युवाले लठ्ठी, तलवारसहितको मार्शल आर्ट ९गतका० देखाउने छन् ।
खालसा साजना दिवस तथा बैशाखी पर्व आयोजक संस्था गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएका प्रतिनिधि दलजित सिंह सरदारले कार्यक्रमका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
सो अवसरमा गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगञ्जका सचिव अमरजित सिंह सरदार, कोषाध्यक्ष जोगिन्दर सिंह सरदार, कानुनी सल्लाहकार तथा प्रवक्ता सुरेन्द्रसिंह सरदार एवं सदस्यहरु चरनजित सिंह सरदार र हरप्रितसिंह सरदार लगायतले पनि खालसा साजना दिवस र बैशाखी पर्वको ईतिहास र महत्वका बारेमा प्रकाश पारेका थिए ।
सो अवसरमा पत्रकारहरु जे पाण्डे, सिराज खान, मनीराम शर्मा, शुक्रऋषि चौलागाई, शंकर खनाल र रुपा गहतराजले पनि खालसा साजना दिवसको शुभकामना व्यक्त गरेका थिए । त्यहाँ उपस्थित पत्रकारहरुलाई गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगञ्जको तर्फबाट खादा ओढाएर सम्मान समेत गरिएको थियो ।
सन १६९९ मा गुरु गोबिंद सिंह महाराजले बैशाखीको दिनमा आनन्दपुर साहिबमा खालसा पंथ र पंज प्यारे सिंहलाई सजाएका थिए । सोही दिनदेखि यस दिनलाई खालसा साजना दिनको रुपमा मनाईंदै आईएको छ । यस दिनलाई गुरु नानकको जमानाबाट बैशाखीको रुपमा मनाईंदै आएको थियो । गुरु अमर दासको समयमा जोड़ मेलाको रूपमा पनि मनाइने गरिएको थियो ।
२५ चैत्र २०७८, शुक्रबार १७:०७ प्रकाशित