सशस्त्र प्रहरीले नेपालगन्जबाट ठुलो परिमाणमा चिनी लगायत अन्य अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके नेपालगन्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुण तिमिल्सिनाको कमान्डमा गएको टोलीले बिहिवार बिहान ४ बजेको समयमा नेपालगन्ज – १२ कोरियनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली नेपाल ल्याइएको ३ हजार केजी चिनी बरामद गरेको छ ।
बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक तिमिल्सिनाको कमान्डमा गएको टोलीले भारतबाट नेपालगन्ज ल्याइएको अवैध चिनीलाई नेपाली कम्पनीको नाम लेखिएको बोरामा राखिएको अवस्थामामा ३ हजार केजी चिनीसहित ६० वटा भारतीय कम्पनीको नाम लेखिएको बोरासमेत बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिए ।
सशस्त्र प्रहरीले सोही स्थानबाटै चिनीसँगै १ लाख ४५ हजार रुपैयाँ बराबरको २९ बोरा सुपरपावर सुर्ती बरामद गरेको छ । बरामद गरिएको उक्त चिनी र सुपरपावर सुर्ती नेपालगन्जदेखि सुर्खेत लैजानलाई तयारी हालतमा राखिएको अवस्थामा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए ।
त्यस्तै सशस्त्र प्रहरीले नेपालगन्जको चौलिका चेकपोस्टबाट १ लाख ३० हजार रुपैयाँ बराबरका एक थान ईरिक्सा र गाडीमा लगाइने ३ थान ठुलो ब्याट्री बरामद गरेको छ । बिहिवार बिहान दक्षिणतर्फबाट नेपालगन्ज आउँदै गरेको उक्त ईरिक्सालाई शंका लागि चेकजाँच गर्दा उक्त ब्याट्री बरामद गरिएको सशस्त्रले जनाएको छ ।
बरामद गरिएको अन्दाजी ४ लाख ५५ हजार रुपैयाँ बराबरको उक्त चिनी लगायत सबै अवैध सामाग्रीलाई आजै नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।
सशस्त्र प्रहरी बाँके प्रमुख सशस्त्र उपरीक्षक बस्नेतले तस्करीविरुद्ध लाग्न बाँकेभरका सबै युनिटलाई कडा निर्देशन दिइरहदा सशस्त्र प्रहरीले धमाधम अवैध सामाग्री बरामद गर्दै आएको छ । सशस्त्र प्रहरी प्रमुख बस्नेत बेला-बेलामा आफै चेकपोस्ट लगायत विभिन्न साना तथा ठुला नाकामा गएर आफै अवैध समाग्री बरामद गर्दै आएका छन् ।
२४ चैत्र २०७८, बिहीबार १६:१३ प्रकाशित