नरैनापुरमा इलाका प्रशासन कार्यालय स्थापना हुने
  • काँचुली खबर

बाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पुनःस्थापनाका लागि तयारी सुरु भएको उल्लेख गर्दै सम्बन्धित पालिकालाई पत्राचार भएको बताए ।

यसको स्थापनासँगै स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगञ्ज आउनुपर्ने बाध्यताको अन्त्य हुने छ ।

इलाका प्रशासन कार्यालय नरैनापुर अहिले नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको छ ।

नागरिकता, प्रशासनिकलगायत सेवा लिन स्थानीयवासी करिब ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगञ्ज आउने गर्छन् ।

‘गाउँपालिकाले पाँचकोठे भवनको व्यवस्था गर्नेबित्तिकै कार्यालय स्थानान्तरण हुने छ,’ उनले भने ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जिल्ला प्रशासन बाँकेको पत्र प्राप्त भएपछि आफूहरू भवनको खोजीमा लागेको बताए ।

इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न माग गर्दै नरैनापुरवासीले पाँच हजार हस्ताक्षर प्रजिअ खत्रीलाई बुझाएका थिए ।

  • १५ चैत्र २०७८, मंगलवार ११:४८ प्रकाशित
  • Nabintech