नेपालद्वारा पपुवा न्यूगिनी पराजित
  • काँचुली खबर

प्रतिस्पर्धात्मक एक दिवसीय क्रिकेटमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ ।

युएईको सारजाहमा भएको त्रिकोणात्मक सिरीजमा नेपालले पपुवा न्यूगिनीलाई दुई विकेटले पराजित गरेको हो ।

नेपाललाई जित दिलाउन रोहितकुमार पौडेल र आरिफ शेखले शतकीय साझेदारी गरे ।

यसअघि टस जितेर ब्याटिङ लिएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो ।

टोलीका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रनको योगदान गरेका थिए भने चाद सोपरले ३५ रनको योगदान दिएका थिए ।

टोलीलाई चुनौतीपूर्ण लक्ष्यसम्म पुर्‍याउन पाँचौँ विकेटका लागि अमिनी र चाद सोपरको ७५ रनको साझेदारी महत्त्वपूर्ण बन्यो ।

यो जोडीले २४.४ ओभरमा ९१-४ को धरमराउँदो अवस्थाबाट टोलीलाई उकासेका थिए ।

नेपालबाट तेज गतिका बलर सोमपाल कामीले ३ विकेट, कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले १/१ विकेट लिए। दुई विपक्षी रनआउट भए ।

मल्लको ओडीआईमा यो पहिलो विकेट हो ।

बायाँ हाते युवा स्पिनर सागर ढकालले पपुवा न्यूगिनीविरुद्धको खेलबाट एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा राष्ट्रिय टोलीमा ‘डेब्यू’ (पहिलो खेल) गरेका छन् ।

उनी ओडिआई डेब्यू गर्ने २८ औँ नेपाली खेलाडी हुन् ।

काठमाण्डूमा गत असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) मा चितवनलाई उपाधि दिलाउने क्रममा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी भएपछि उनी प्रशिक्षक पुबुदु दशानायकेको रोजाइमा परेका थिए ।

ढकालले अघिल्लो महिना ओमानविरुद्धको खेलबाट टी-२० आईमा डेब्यू गरिसकेका छन् ।

उमेर समूहको प्रतियोगिताहरूमा ढकालले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

सन्दीप लामिछानेले पपुवा न्यूगिनीसँगको खेलबाट ओडिआईमा ‘डेब्यू’ कप्तानीको अवसर पाए ।

  • २ चैत्र २०७८, बुधबार १८:५९ प्रकाशित
  • Nabintech