१३ बैशाख २०८१, बिहीबार
विश्वकप : सेमिफाइनलकाे समिकरण पूरा
  • काँचुली खबर

काठमाडौं/  रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार रातिको अन्ति सेमिफाइनलमा आयोजक रूसलाई हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेसँगै सेमिफाइनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो ।

यसअघि शनिबार नै भएको पहिलो क्वाटरफाइनल खेलमा स्वीडेनलाई २–०ले पाखा लगाउँदै इङ्ल्याण्ड विजय भएसँगै सेमिफाइनलको समिकरण पूरा भएको हो । योसँगै क्रोएसिया, फ्रान्स, बेल्जियम र इङ्ल्याण्डले अन्तिम ४ मा स्थान पक्का गरेका छन् ।

सेमिफाईनलमा पुगेका चार वटै टोली युरोपियन हुन् । फाइनल प्रवेशका लागि अब फ्रान्सले बेल्जियम र इङ्ल्याण्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्ने छ । युरोकपको उपविजेतासमेत रहेको फ्रान्सले दक्षिण अमेरिकी राष्ट्र उरूग्वेलाई २–० ले पन्छाउँदै यो विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो ।

यस्तै पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले हराउँदै अर्को युरोपेली मुलुक बेल्जियम सेमिफाइनल पुग्ने दोस्रो टिम बनेको छ । इङ्ल्याण्डले स्विडेनलाई २–०ले हराउँदै १८ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टोली रूसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा स्थान बनाउन सफल भयो । योसँगै क्रोएसिया दोस्रो पटक सेमिफाइनलमा पुगेको छ ।

अब फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल खेल मंगलबार हुने छ । दुई टोलीबीचको खेल सेन्ट पिटर्सवर्ग स्टेडियममा नेपाली समय अनुसार राति ११ः४५ मा शुरू हुनेछ ।

दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डले क्रोएसियाको सामना गर्नेछ। क्रोएसिया र इङ्ल्याण्डबीचको दोस्रो सेमिफाईनल खेल बुधबार राति हुनेछ । लुजिनिकी रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ११;४५ मा शुरू हुनेछ ।

  • २४ असार २०७५, आईतवार १७:१० प्रकाशित
  • Nabintech